जाजरकोट / जाजरकोटको भेरी नगरपालिकाले प्रथम पटक आयोजना भएको खुला हाफ म्याराथुन दौडमा पुरुषतर्फ रुकुम पश्चिमका दुर्गाराज बुढामगर प्रथम भएका छन् भने महिलातर्फ नेपाली सेनाकी सीता कुमारी शाही प्रथम भएकी छन्। खलंगाको थाप्लेचौरदेखि बोहरा पुगेर पुनः थाप्लेचौरमा पुग्ने गरी प्रथम मेयर म्याराथुन दौडको आयोजना गरिएको थियो। एक सय ५ जना सहभागीलाई पछि पादै बुढाले ३६ मिनेट ५४ सेकेन्डमा १० किलोमिटर दूरी पार गदै प्रथम पुरस्कार हात पारेका हुन् । १८ जना महिलालाई पछि पादै नेपाली सेनाकी शाहीले ४७ मिनेट ५६ सेकेन्डमा निर्धारित दूरी पार गरिन्। उपाधी जित्दै प्रथम स्थान हाँसिल गर्ने दुवैजनाले २० हजार नगद हात पारे। त्यस्तै नेपाली सेनाका टेकेन्द्र कुमार थापाले ३८ मिनेट ५९ सेकेन्डमा निर्धारित दूरी पार गदै द्वितीय स्थान हांसिल गरे ।
जाजरकोट शिवालयका दीपक कठायतले ३९ मिनेट २१ सेकेन्डमा दूरी पार गदै तृतीय स्थान हांसिल गरेका छन्। महिला तर्फ नेपाली सेनाकै विमला राना मगरले ४८ मिनेट ५२ सेकेन्डमा दूरी पार गदै द्वितीय र पश्चिम रुकुमकी सुस्मीता रावलले ४९ मिनेट ४ सेकेन्डमा दूरी पार गदै तृतीय स्थान हाँसिल गरिन् । त्यस्तै द्वितीय र तृतीय हुने महिला तथा पुरुष खेलाडीलाई क्रमश १५ हजार र १० हजार पुरस्कार प्रदान गरिएको छ । नगरपालिकाले आयोजना गरेको उक्त प्रथम मेयर म्याराथुन प्रतियोगितामा मेयर चन्द्रप्रकाश घर्ती आफैं समेत सहभागी भए। उनी दौडमा सहभागी भएपछि खेलाडी पनि हौसिएका थिए। उनले ५७ दशमलब ४८ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए। विजेता खेलाडीलाई प्रदेशसभा सांसद गणेशप्रसाद सिंहले नगद तथा प्रमाण पत्र प्रदान गरेका थिए। खेलकुदको माध्यामबाट शरीर स्वस्थ राख्न र खेलाडीलाई हौसला दिन खुला हाफ म्याराथुन प्रतियोगिताको आयोजना गरिएको मेयर घर्तीको भनाई छ ।

















