नयाँ सीमा स्तम्भ निर्माण गर्ने विषयमा नेपाल-भारतबीच सम्झौता

133

जनकपुरधाम / नेपाल र भारतका प्रतिनिधिहरूले सीमामा जीर्ण रहेको सीमा स्तम्भहरूको स्थानमा नयाँ सीमा स्तम्भ निर्माण गर्ने विषयमा सम्झौता भएको छ।

जनकपुरधाममा भएको दुवै देशका प्रतिनिधि सम्मिलित सो कार्यक्रममा नेपालको धनुषा, महोत्तरी, सिरहा र सप्तरी तथा भारत बिहारस्थित मधुबनी जिल्लाका अधिकारीबीच भएको बैठकमा सीमा क्षेत्रको बाँकी रहेका स्थानहरूमा तत्काल स्तम्भ निर्माण गर्न सम्झौता भएको हो । प्रदेश दुईको नेपाल-भारतसँग जोडिएको धनुषा, महोत्तरी, सिरहा र सप्तरीसम्म कुल ९ सय ४२ सीमा स्तम्भ रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले सो कार्यक्रममा जानकारी दिएका हुन्। प्रमुख जिल्ला अधिकारी कँडेलका अनुसार महोत्तरीदेखि सप्तरीसम्म कुल ९ सय ४२ वटा सीमा स्तम्भहरूमध्ये ३ सय ९४ को मर्मत सम्भार र ५ सय ४८ निर्माण गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।

दुई राष्ट्रबीचका अधिकारीबीच आउँदो ‘सिजन’ मा सप्तरीमा निर्माण गर्नुपर्ने सम्झौतामा हस्ताक्षर भएको बैठकपछि कँडेलले जानकारी दिएका छन् । यसैगरी यस ‘सिजन’ मा ६ सय १८ वटा सीमा स्तम्भको मर्मत सम्भार गरिएको समेत जानकारी दिए । यससँगै सुरक्षासम्बन्धी चुनौतीका कुराहरूको बारेमा समेत गम्भीर रूपमा छलफल भएको छ । नेपाल-भारत सीमा क्षेत्रमा भइरहेका अवैधरूपमा मदिरा तस्करी र लागुऔषध ओसार पोसारका बारेमा चनाखो भई यसलाई रोक्नका लागि संयुक्तरूपमा कार्य थालिने दुवै देशका अधिकारीहरूले प्रतिवद्धता जनाएका छन्।

भारत विहार राज्यका मधुबनी जिल्लाका डिएम श्रीसशक्त कपिल अशोकले सीमा स्तम्भले दुई राष्ट्रबीचको मित्रताको संकेत समेत रहेको जनाए । दुई राष्ट्रबीचको सीमा छुट्याउने उद्देश्यले गाडिएका सीमा स्तम्भहरूको मर्मत सम्भार तथा नयाँ निर्माण मित्रवत तरिकाले गरिएको उनको धारणा थियो । स्तम्भ निर्माण, मर्मत सम्भार तथा सीमा रक्षा गर्न नेपालको सशस्त्र प्रहरी बल र भारतको एसएसबीले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले बाँकी रहेका सीमा स्तम्भहरू दुवै देशले चाँडै निर्माण गर्नेछौं । अब सप्तरी जिल्लातर्फको सीमा क्षेत्रमा बाँकी रहेका सीमास्तम्भ निर्माण हुने जनाएका छन्।

नेपाल–भारत संयुक्त सीमा टोली–२ को यसअघि पहिलो बैठक गत डिसेम्बरमा मधुबनीमा बसेको थियो। हिजो आइतबार दोस्रो बैठकपछि आगामी बैठक डिसेम्बर महिनामा मधुबनीमा हुनेछ। कार्यक्रममा नेपाल–भारत संयुक्त सीमा टोलीको संयुक्त बैठकमा जीर्ण रहेका सीमा स्तम्भ र नयाँ स्तम्भ निर्माण गर्न दुवै देशका पदाधिकारीहरूले चासो व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here