काठमाडौं / २०६६ साल जेष्ठ २६ गते अर्थात् आजकै दिनबाट सञ्चालनमा आएको लोकप्रिय फिल्म सम्बन्धि अनलाइन फिल्मीखबर डटकमले आफ्नो दशौं बार्षिकोत्सव मनाएको छ ।
आइतबार राजधानीमा एक कार्यक्रमका बीच केक काटेर सेलिब्रेसनसँगै फिल्मीखबर डटकमको पारिवारिक सदस्यको रूपमा रहेर साथ दिने पत्रकारहरुलाई कदर पत्र र दोसल्ला ओडाएर सम्मान पनि गरिएको छ ।
अनलाइन पत्रकारीताको क्षेत्रमा नयाँ आयाम बनेर आएको यस अनलाइनले कृष्ण त्रिपाठी, अनुप भट्टराई, उत्सव रसाईली, बिनोद पोखरेल, बैकुण्ठ पराजुली, महेश्वर मान सिंह, बिष्णु सुवेदी, मदन रिजाल, सामिप्य तिमल्सिना, मनिष दाहाल (अन्जान), बिवेक बस्याललाई चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयको हातबाट कदर पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा निर्देशक दीपा बस्नेत, निर्माता माधव वाग्ले, गायक तथा निर्माता अर्जुन कुमार, निर्माता तथा कलाकार सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, लेखक प्रदीप भारद्वाजलगायतका फिल्मकर्मीहरुको उपस्थिति रहेको थियो । हाल अमेरिकामा रहेका फिल्मीखबर डटकमका सम्पादक तथा प्रकाशक सुमन गैरेले सम्पादकियमार्फत् अनलाइनलाई अझ परिस्कृत र परिमार्जित गर्दै नयाँ ढाँचाको सामग्री र नयाँ क्षमताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।


















