काठमाडौं– सिनामंगलमा मंगलबार बिहान दुई माइक्रो बस आपसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार मंगलबार बिहान गौशालाबाट सिनामंगल जाँदै गरेको बा ४ ख ५१०० नम्बरको हायस र विपरीत दिशाबाट आइरहेको बा १ झ ९७७६ नम्बरको माइक्रो एकआपसमा ठोक्किएको थियो ।
घटनामा नेपाली सेनाका अमल्दार भरत खत्री र माइक्रो चालक हिमाल काफ्ले गम्भीर घाइते छन् । नारायण दल गुल्ममा कार्यरत् खत्रीको टाउकोमा चोट लागेको छ ।
घाइते सबैको काठमाडौँ मेडिकल कलेज केएमसी सिनामंगलमा उपचार भइरहेको छ ।