काठमाडौं– सत्तारुढ दल नेकपा सचिवालय बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजे बैठक बस्ने नेकपा स्रोतले जनाएको छ ।
बैठकले तत्कालीन एमाले र माओवादीका भागमा परेका केन्द्रीय विभाग प्रमुख र उप्रमुख, जिल्ला इन्चार्ज सहइन्चार्ज, केन्द्रीय आयोग प्रमुख उपप्रमुख, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्को नेतृत्वको टुंगो लगाउने छ।
नेकपामा विभाग, आयोग, जिल्ला इन्चार्ज, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्मा एमाले माओवादीले के कति संख्यामा लिनेबारेमा टुंगो लागिसकेको छ।
यसअघि नेकपाले ३२ विभागमध्ये १८ विभाग तत्कालीन एमाले १४ माओवादीले लिने सहमति भइसकेको छ।
यस्तै, कुल ७७ जिल्ला इन्चार्जमध्ये एमाले ४६ माओवादी ३१ जिल्ला इन्चार्ज भागबन्डा भइसकेको छ। ज्येष्ठ कम्युनिस्ट मञ्च माओवादी र सल्लाहकार परिषद्मा पूर्वएमालेले लिने गरी १२१ सदस्य हुने गरी भागबन्डा गरिसकिएको छ। तीन आयोगमा दुई पूर्वएमाले र एक आयोग माओवादीको परेको छ।