काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गत उग्रचण्डी नाला समाजलाई शैक्षिक छात्रवृति कोष स्थापनार्थ रु २ लाख सहयोग गरेको छ ।
सोमबार आयोजित एक कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक आरती राणाले उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
उक्त कार्यक्रममा बोल्दै सहायक महाप्रबन्धक राणाले देशको आर्थिक तथा सामाजिक विकासमा शिक्षाको योगदानको चर्चा गर्दै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेका कामले समाजलाई प्रत्यक्ष फाइदा पुगेकोे जनाउनुभयो।
उहाँले यस्ता सामाजिक कार्यले बैंकलाई जनतामाझ पु¥याउन सहयोग पुगेको जनाउँदै उग्रचण्डी नाला समाजलाई सहयोग गर्न पाएकोमा खुशीसमेत व्यक्त गर्नुभयो ।
उग्रचण्डी नाला समाजका अध्यक्ष श्रेष्ठले बैंकबाट प्राप्त रकमबाट शैक्षिक छात्रवृत्ति कोषको स्थापनामा प्रयोग गरिने र त्यसबाट प्राप्त व्याज रकमबाट चण्डेश्वरी उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई वार्षिकरुपमा छात्रवृत्ति प्रदान गरिने जानकारी गराउनुभयो ।
बैंकले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।

















