एजेन्सी / ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनौट अन्तर्गत बुधबार सिंगापुरमा भएको खेलमा नेपालले मलेसियालाई सात विकेटले हराएको छ । ९ ओभरमा ८४ रन बनाउनु पर्ने लक्ष्य ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोलीले ८ ओभरमा तीन विकेटको क्षतिमा भेट्टायो । नेपालका कप्तान मल्ले यो खेलमा कीर्तिमानी पारी खेले । उनले अर्धशतक बनाए । उनी ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी बनेका छन् ।
मल्लले २१ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ५१ रन बनाए । यसअघि यो कीर्तिमान विनोद भण्डारीको नाममा थियो । उनले सिंगापुर जानुअघि भएको मलेसियासँगको शृङ्खलामा २५ बलमा अर्धशतक बनाएका थिए । त्यसैगरी बुधबारको खेलमा पहिलो विकेटका लागि भएको साझेदारीमा पनि नयाँ कीर्तिमान बन्यो । यो खेलमा पहिलो विकेटका लागि मल्ल र प्रदीय ऐरीले ६० रनको साझेदारी गरे । यसअघि यो कीर्तिमान पारस खड्का र ज्ञानेन्द्र मल्लको नाममा थियो । उनीहरुले मंगलबार भएको कतारसँगको खेलमा पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरेका
थिए ।
पारस र ज्ञानेन्द्रले मंगलबार बनाएको कीर्तिमान एक दिनपछि तोडिएको हो । तर नयाँ कीर्तिमानमा मल्ल भने सामेल रहे । पारससँग मिलेर ज्ञानेन्द्रले मंगलबार भएको कीर्तिमानले सन् २०१४ मा सुवास खकुरेल र सागर पुनले पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरी बनाएको कीर्तिमान तोडेको थियो ।

















