वैज्ञानिक वन व्यवस्थापनले गर्दा जङ्गलबाट पशुपक्षी हराउँदै

262

घोराही / दाङकाे देउखुरीका विभिन्न सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत धमाधम पुराना रूख काटिए । अझै कतिपय सामुदायिक वनमा त झाडी सफाइको नाममा साना रुख पनि बाँकी छैनन् । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमले एकातिर फाइदा पु¥याए पनि अर्कोतर्फ नोक्सान भइरहेको स्थानीयकाे धारणा रहेकाे छ ।

लमही नगरपालिका–७ निवासी प्रकाश चौधरीले वैज्ञानिक वन व्यवस्थापनले नोक्सानसँगै थप समस्या सिर्जना गरेको जानकारी दिए । “हाम्रो रोजीरोटी यही जङ्गल हो, गाई बाख्रा चराउनु पर्छ पाइँदैन ।” चौधरीले भने, “जङ्गलमा चरण रोक्काले गरिएको छ भने बूढा र साना रुख काटिएका छन् ।” उनका अनुसार, गाईबस्तुको आहाराको रुपमा प्रयोग हुने साना जातका रुख पनि सबै सखाप भइसके । जसको कारण पहिले प्रशस्त देखिने जङ्गली जनावर र पशुपक्षी पनि अचेल देखिन छाडेका छन् ।

पुराना र धोन्द्रे रूखमा पशुपक्षीको बासस्थान हुने भएकाले उनीहरूको बासस्थान सङ्कटमा पर्न थालेको जानकार जनाएका छन् । पुराना र धोन्द्रे रुखमा बसोबास गर्ने पक्षी लोप हुने खतरामा छन् । दाङ देउखुरीका सामुदायिक वनमा वन व्यवस्थापनको नाममा पुराना रुख काट्न थालेपछि वन्यजन्तुको अस्तित्व हराउन थालेको वन तथा वातावरण संरक्षण समन्वय समिति दाङका अध्यक्ष उमाकान्त पन्त सुनाए । वैज्ञानिक वन व्यवस्थापनको नाममा पुराना रूख काट्नाले जैविक विविधतामा असर परेको जनाए ।

सामुदायिक वनका पुराना रुखमा बसोबास गर्ने लाटोकोसेरो, लासे, धनेस, सर्प, छेपारोलगायतका प्रजातिका जनावर लोप हुने खतरा बढेको उहाँले जनाउनुभयाे ।  “अहिले जङ्गली गोँहोरो, टोँड्कामा बस्ने सर्प, धनेसलगायतका प्रजाति पाइनै छाडे ।” पछिल्लो समय जङ्गलमा पाइने घस्रने र ठूलाठूला रुखमा बस्ने विभिन्न प्रजाति लोप हुने अवस्थामा रहेकाले यस विषयमा गम्भीर हुनुपर्ने संरक्षणकर्मी चिरञ्जीवी खनालले भने । टोँड्को र धोन्द्रे रुखमा धमिरा, किरासँगै चरा बस्छन् । तिनै रुख हटाउँदा त्यहाँ बसिरहेका र बासस्थान बनाउने प्रजाति अन्यत्रै बसाई सर्ने अवस्था आएको उहाँको धारणा छ । भालु, निरबिरालो, गोह्रा, उड्ने लोखर्केलगायतका वन्यजन्तु रुखमा बस्ने गर्दछन् । वैज्ञानिक वनअन्तर्गत ठूलाठूला रुख मासिँदा वन्यजन्तुलाई प्रत्यक्ष असर पुगेको अनुसन्धानकर्ता खनालले जनाउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ्घ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीले पनि सामुदायिक वनको दिगो व्यवस्थापनको पक्षमा सोच्नुपर्ने अवस्था आएको छ । पुरानो कार्ययोजनामा प्रशस्त उपभोक्तालाई अधिकार भएकाले वन मास्ने गरी आएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू हुन नहुने तर्क गर्नुहुन्छ । विविधतामा असर गर्ने र उपभोक्तामैत्री नभएको कारण वैज्ञानिक वन व्यवस्थापन लागू हुन नहुने उनको धारणा छ ।

वैज्ञानिक वन व्यवस्थापन भनेको ठूला र बूढा रुख हटाउँदै नयाँ बिरुवा हुर्काउनु हो । देउखुरी क्षेत्रमा रहेका १४८ सामुदायिक वनमध्ये २० वटा वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम स्वीकृत भएको छ । जसमध्ये १५ वटा सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत काम शुरु भइसकेका छन् । बाँकी पाँच वटा वनमा तत्काल शुरु हुने डिभिजन वन कार्यालय लमहीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here