अख्तियारमा अनलाइन उजुरी बढ्दै

199

काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनलाइन उजुरीको व्यवस्था ल्याएदेखि भ्रष्टाचार नियन्त्रण तथा निवारणका लागि अनलाइन उजुरी दिनेको सङ्ख्यामा वृद्धि भएको छ ।

 केही वर्षअघिसम्म आयोगले लिखित निवेदन र कागजी प्रमाण लिएर आफैँ उपस्थित भएर उजुरी दिने व्यवस्थामा सीमित गर्दै  अनलाइन ऊजुरी लिने व्यवस्था गरेको छ ।

 ‘इमेल’ वा आयोगको अनलाइन शीर्षकमार्फत उजुरी दर्ता गराउनेको सङ्ख्या बढेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले प्रविधि प्रयोग गर्नेको सङ्ख्या बढेसँगै आयोगमा इमेलमार्फत उजुरी आउने सङ्ख्या पनि बढेको जानकारी दिनुभयो ।

गत वर्ष मात्रै आयोगमा करिब २४ हजार अख्तियार दुरुपयोगसम्बन्धी उजुरी परेका थिए । प्रवक्ता कोइरालाले भन्नुभयो, ‘१५ प्रतिशतभन्दा बढी उजुरी अनलाइनबाट आएका छन् ।’ आयोगको तथ्याङ्कबमोजिम गत वर्ष करिब तीन हजार छ सय उजुरी अनलाइनबाट प्राप्त भएको हो । चालू आर्थिक वर्षको सुरुको केही दिनमा दैनिक तीनवटासम्म अनलाइन उजुरी पर्न थालेको छ ।

आयोगले हटलाइन, भाइबर, इमेल, फेसबुक, ट्विटर र हुलाकमार्फत वा आफैँ उपस्थित भई ती माध्यमबाट उजुरी लिँदैआएको छ । इमेल अतिरिक्त फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जाल भएर पर्ने उजुरी विद्युतीय माध्यमअन्तर्गत नै पर्छन् ।

प्रवक्ता कोइराला अनलाइन, फेसबुक वा ट्विटर प्रयोग गरी दिइने उजुरीको विश्वसनीयता आफैँ उपस्थित भएर दिइने उजुरीजस्तै रहने जनाउनुहुन्छ । कोइराला भन्नुहुन्छ, “जुनसुकै माध्यमबाट आए पनि उजुरीलाई एउटै बास्केटभित्र राखेर छानबिन र अध्ययन हुन्छ । ‘ आयोगको वेबसाइटमा राखिएको अनलाइन उजुरी ‘ट्याम्प्लेट’मार्फत अख्तियारको दुरुपयोग गर्ने संस्था वा व्यक्तिविरुद्ध प्रमाण र सङ्क्षिप्त जानकारीसहितको विवरण पेस गरेपछि उजुरी बुझिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here