एजेन्सी / चीनको वुहानमा नयाँ कोरोना भाइरसबाट संक्रमित एक अमेरिकी नागरिकको मृत्यु भएको छ ।
बेइजिङस्थित अमेरिकी दूताबासका अनुसार वुहानमा नयाँ भाइरसबाट अमेरिकी नागरिकको ज्यान गएको हो । अमेरिकी दूताबासका प्रवक्तालाई उदृत गर्दै न्यु योर्क टाइम्सले नयाँ भाइरसबाट पहिलो पटक अमेरिकी नागरिकको ज्यान गएको बताएको छ ।
त्यस्तै वुहानस्थित अस्पतालमा भर्ना गरिएका एक जापानी नागरिकको पनि ज्यान गएको छ । निमोनिया भएपछि अस्पताल भर्ना गरिएका जापानी नागरिकको मृत्यु भएको जापानी विदेशमन्त्रालयले जनाएकाे छ ।
कोरोना भाइरसबाट संक्रमित भएपछि उनको मृत्यु भएको आशंका गरिएको छ । तर नयाँ भाइरस पहिचान गर्नमा भइरहेको कठिनाइका कारण भाइरल निमोनियाबाट उनको मृत्यु भएको जनाइएकाे छ ।
वुहानमा निमोनियाका कारण ज्यान गुमाउने जापानीको उमेर ६० वर्षमाथि रहेको समेत समाचारमा जनाइएकाे छ ।
अहिलेसम्म यस भाइरसबाट ७ सयभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ भने ३४ हजारभन्दा बढी मानिस संक्रमित छन् । साथै नयाँ भाइरस २७ वटा मुलुकमा फैलिइसकेको छ ।


















