काठमाडौं / कञ्चनपुर, सल्यान, धादिङ, सप्तरी र कास्कीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ बंकस्थित सडकमा रोकिराखेको ना.७ ख ६५१६ नम्बरको बसमा से.३ प ३९४ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार कैलाली गोदावरी नगरपालिका-१० बस्ने ३१ वर्षीय मोहन चौधरीको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटना हुँदा सडकमा लडेका चौधरीलाई बिपरित दिशाबाट आएको से.१ ख १२७३ नम्बरको मिनीट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकोमा पदमा
अस्पताल अत्तरियामा उपचारको क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कैलाली गोदावरी नगरपालिका-१० बस्ने २८ वर्षीय निराजन चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । तीनवटै सवारी साधन तथा बस र मिनिट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सल्यान, कपुरकोट गाउँपालिका-३ चोरखोलास्थित सडकमा नेपाली सेनाको सबुज गण सिमखर्क ब्यारेकबाट बुटवलतर्फ जाँदै गरेको लु.१ ग १२३ नम्बरको ट्रक सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा ट्रकमा सवार बारा डुमरवाना-८ घर भएका नेपाली सेनाका जमदार ३५ वर्षीय यादव भरेलको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका नेपाली सेनामा कार्यरत अन्य ६ जनालाई तत्काल खटिएका सुरक्षाकर्मीले उद्धार गरी उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसिपुर पठाएकोमा थप उपचारको लागि सैनिक अस्पताल छाउनी रिफर गरिएको छ ।
धादिङ, गजुरी गाउँपालिका-२ चाम्बासस्थित सडकमा लु.२ ख १३५ नम्बरको बस र बा.९८ प ७०५८ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा स्कुटरमा सवार चितवन भरतपुर महानगरपालिका-१३ गितानगर बस्ने २० वर्षीया महिमा सिलवाल र २२ वर्षीया शर्मिला सिलवालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुमध्ये महिमाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा र शर्मिलाको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२ अर्चलेस्थित सडकमा ना.२ ख ५०५७ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने दिनेश गुरुङको छोरा ७ वर्षीय प्रज्वल गुरुङको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१ गोरियाहीस्थित सडकमा बा.१ प ८००० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका-२ सकरदही बस्ने ३५ वर्षीया मुनिदेबी यादवको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्की, पोखरा महानगरपालिका-५ जिरो किलोमिटरस्थित सडकमा ग.१ ज ४०९७ नम्बरको ट्याक्सी र ग.१० प २५५५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दार्चुला घर भई हाल पोखरा महानगरपालिका-६ खहरे बस्ने ३५ वर्षीय पदम सिंह दहाडको मेट्रोसिटी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक काभ्रे घर भई हाल पोखरा महानगरपालिका-८ न्यूरोड बस्ने २४ वर्षीय आशिष भुजेलको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्सी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















