काठमाडौं – सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३ गतेसम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी बैशाख १८ गतेसम्म उडान स्थगित गर्ने निर्णय गरेको हो । बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले जानकारी दिए । आन्तरिक उडान बैशाख ३ गतेसम्म बन्द गरिएको छ ।
समितिको बैठकले सबै खालका आपूर्तिहरु र विशेषगरी खाद्य वस्तुको आपूर्तिलाई स्वभाविक राख्ने, आवागमनमा कडाईका साथ निगरानी गर्ने कार्यलाई कायम राख्ने र आपूर्ति नियमित गर्ने निर्णय भएको सचिव विडारीले जनाए ।
सचिव विडारीले कोभिड–१९ को संक्रमणका कारण अर्थतन्त्रमा पार्ने असरका विषयमा राष्ट्रिय योजना आयोगले अध्ययन गरिरहेको जानकारी समेत दिए । बैठकमा लकडाउन कार्यान्वयनका लागि भएका कामहरुको विषयमा समेत समिक्षा भएको थियो । सरकारले लकडाउनको स्थितिको प्रभावमा परेका १ लाख १४ हजार ३ सय १६ जना परिवारलाई राहत वितरण गरेको सचिव विडारीले जनाए । त्यस्तै, ३० हजार ५ सय जना व्यक्तिहरु अहिले विभिन्न स्थानमा क्वारेन्टाइनमा रहेको समेत उनले भने ।
लकडाउनको अवस्थमा २ हजार ६ सय भन्दा बढी व्यक्तिहरुलाई कारबाही गरी सम्झाएर छाडेको र २ हजार २ सय ३५ सवारी साधनहरुलाई समेत कारबाही गरिएको छ । यस्तै, कोरोना भाइरस संक्रमणको आशंका लागेकाहरुलाई सेवा दिन देशैभर १ हजार ९ सय ३९ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने गरी व्यवस्थापन गरिएको जानकारी समेत सचिव विडारीले दिए ।


















