काठमाडौं – विगत केहीदिनदेखि काठमाडौंमा चिसो बढेको छ। बिहीबार, शुक्रबार तुलनामा न्यूनतम तापक्रम केही घटेको काठमाडौं उपत्यकामा शनिबार बिहानैदेखि चिसो बढेको छ। आज बिहानको न्युनतम तापक्रम ५.३ डिग्री सेल्सियस छ। बादलले आकाश ढाकेपछि काठमाडौं धुम्म छ। ‘घाम नलागेकोले चिसो भएको हो,’ मौसम पूर्वानुमान महाशाखा मौसमविद् विभूति पोखरेलले भनिन्, ‘आज दिनभर घाम लाग्ने सम्भावना कम छ। घाम लागिहाले पनि मधुरो हुनेछ। ’ पोखरेलका अनुसार दक्षिणपूर्वी अरब सागर तथा पूर्वी बिहारमा न्यूनचापीय क्षेत्र बनेको र त्यहाँबाट म्वोइस्चर आइरहेकोले चिसो बढेको हो। ‘आज दिनभर नै चिसो हुन्छ।
तराई क्षेत्रमा हुस्सु लाग्ने र उच्च हिमाली क्षेत्रमा हिमपातको हुन्छ,’ उनले भनिन्। दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभावले चिसो बढेको हो। ‘हाल गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। देशका मध्य तथा पूर्वी तराईका भू-भागमा बाक्लो हुस्सु-कुहिरो लागेको छ’, उनले भनिन्, ‘मौसममा सुधार हुन केही दिन लाग्नेछ।’
पछिल्लो २४ घन्टामा देशको विभिन्न भू-भागमा तापक्रममा अझै कम हुनुको साथै तराईका धेरै भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु्/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।
आजको मौसम पूर्वानुमान दिउँसो : प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रहने छ भने प्रदेश २ , बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ र बाँकि प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ। प्रदेश नं १ का एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ। राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ। । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का बर्षा र उक्त प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।


















