कुलोले दियो खुसी

192

सल्यान । वनगाड कुपिण्डे नगरपालिकाका किसान टङ्कबहादुर राना पक्की सिँचाइ कुलोबाट आएको पानीले खेती गर्न पाउँदा निकै खुसी हुनुहुन्छ । पहिले कच्ची कुलोबाट पानी चुहिने समस्या मात्र होइन, हरेक पटक कुलो सफा गर्न जानुपर्ने अवस्था उहाँले भोग्नुभएको थियो तर अहिले त्यो समस्या हट्नुका साथै कुलोबाट पर्याप्त पानी आएका कारण उत्पादन पनि बढेको छ ।

उहाँका अनुसार यहाँका ३० भन्दा धेरै किसानलाई पक्की कुलोबाट खेती गर्न सहज भएको छ । सिँचाइ सुविधा नपुगेका वनगाड, शारदा फाँट, कुमाख र कालीमाटीमा सिँचाइ कुलो निर्माण भएका छन् । यी ठाउँमा कुलो निर्माणले लामो समयपछि जमिन सिँचित भएको छ ।

यीबाहेक सल्यानमा अहिले अरू पनि पक्की सिँचाइ कुला बनिरहेका छन् । सयौँ बिघा क्षेत्रमा आयोजनामार्फत स्थायी कुलो निर्माण भएपछि खेती गर्न सहज भएको किसानले बताएका छन् । कुमाख गाउँपालिका–५, कालागाउँका हिमप्रकाश शाहले कुलो बनेपछि आकासे पानीको भरमा गरिने खेतीमा अहिले कुलोको पानीले सिँचित भएको बताउनुभयो ।

उहाँका अनुसार हिउँदे र वर्षायाममा खेतीपाती गर्दा पानीको अभाव भोग्नु परेकोमा अहिले भने सिँचाइ कुलो बन्दा गहँु बालीमा सिँचाइ गर्न सहज भएको छ । सल्यानमा गत वर्ष मात्र ३६ वटा सिँचाइ कुलो निर्माण भएका थिए । यस वर्ष कृषि विकास कार्यालयबाट २६ वटा र खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयबाट १० वटा गरी कुल ३६ वटा सिँचाइ कुलो निर्माण भएका छन् ।

यस वर्ष खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयको सक्रियता तथा कृषि विकास कार्यालयको अनुदान रकमबाट अन्य २८ वटा पक्की कुलो बनाउने काम भइरहेको छ । कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले २८ वटा सिँचाइ कुलो निर्माणको क्रममा रहेको बताउनुभयो । यस वर्ष कृषि विकास कार्यालयले ३४ वटा सिँचाइ कुलो निर्माण गरिरहेको छ ।

अहिलेसम्म जिल्लाभर सिँचित क्षेत्र सात हजार ४८८ हेक्टर छ । त्यसमध्ये वर्षभरि सिँचाइ पुग्ने क्षेत्र पाँच हजार १३ हेक्टर छ । सल्यानमा अझै पनि ३१ हजार ४३६ हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ पुग्न बाँकी छ । – गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here