काठमाडौं। आगामी जुन २२ देखि जुन २६ सम्म आयोजना हुन लागेको ‘विश्व टेस्ट च्याम्पियनशिप’ फाइनलको विजेता टोलीले १६ लाख अमेरिकी डलर पुरस्कार स्वरुप पाउने भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’ले टेस्ट च्याम्पियनशिपको विजेताले पाउने रकमको घोषणा गरेको छ। पहिलो पटक आयोजना गरिएको टेस्ट च्याम्पियनशिपमा विश्वका शीर्ष ९ टेस्ट खेल्ने देशले दुई वर्षसम्म प्रतिस्पर्धा गर्दा शीर्ष दुई टोली बन्दै न्युजिल्यान्ड र भारतले आगामी शुक्रवारबाट शुरू हुने फाइनल खेलमा प्रतिस्पर्धा गर्दै छन्।
इङ्ल्यान्डको ‘साउथह्याम्पटन’मा आयोजना हुने सो फाइनल खेलको उप-विजेता टोलीले भने ८ लाख अमेरिकी डलर पुरस्कार स्वरुप पाउने भएको छ। यदि दुई टोली बिचको फाइनल खेल बराबरीमा सकिएको खण्डमा भने दुवै टोलीले संयुक्तरूपमा टेस्ट च्याम्पियनशिप उपाधि उचाल्ने पनि निश्चित भएको छ।
त्यस्तै तेस्रो स्थानमा रहेर प्रतियोगिता अन्त्य गरेको अस्ट्रेलियाको टोलीले ४.५ लाख अमेरिकी डलर पाउने भएको छ भने चौथो स्थानमा रहेको इङ्ल्यान्डले ३.५ लाख अमेरिकी डलर पाउने ‘आईसीसी’ले घोषणा गरेको छ।

त्यस्तै पाँचौं स्थानमा रहन सफल पाकिस्तानले २ लाख अमेरिकी डलर प्राप्त गर्ने भएको छ भने छैटौं, सातौं, आठौं र अन्तिम स्थानमा क्रमशः प्रतियोगिता अन्त्य गरेका दक्षिण अफ्रीका, वेस्ट इन्डिज, श्रीलंका र बंगलादेशले समान १ लाख अमेरिकी डलर पाउने भएका छन्।
पहिलो पटक आयोजना गरिएको ‘विश्व टेस्ट च्याम्पियनशिप’ फाइनलका लागि भारत र न्युजिल्यान्डका टोलीले आफ्नो अभ्यास अन्तिम चरणमा पुर्याएका छन्। सो फाइनल खेल साउथह्याम्पटनको ‘दि रोज बल’ मैदानमा खेलिने छ।

उक्त खेलको अम्पायरहरु इंग्ल्याण्डका माइकल गोफ र रिचार्ड इलिङवर्थ हुने पक्का भएको छ भने ‘थर्ड अम्पायर’को भूमिकामा इङ्ल्यान्डकै रिचार्ड केटेलबोरो देखिने छन्।


















