काठमाडौं । फ्लाइङ सिखको उपनामबाट परिचित मिल्खा सिंहको ९१ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ ।
गत महिना उनलाई कोभिड-१९ संक्रमण भएको थियो । यही साता कोभिडकै कारण उनको श्रीमतीको पनि निधन भएको थियो ।
मे २० मा कोरोना संक्रमण भएपछि उनलाई मोहनीमा एक निजी हस्पिटलमा मे २४ मा भर्ना गरिएको थियो । एक सातापछि डिस्चार्ज भएका उनलाई अक्सिजन लेभलम घटेपछि जुन ३ मा नेहरु हस्पिटलमा भर्ना गरिएको थियो । उनको पछिल्लो कोभिड रिपोर्ट नेगटिभ आएको थियो । मिल्खाका ३ छोरी र १ छोरा रहेका छन् ।
मिल्खाले एसियन गेम्समा ४ स्वर्ण पदक जितेका छन् । उनले १९५८ मा २०० र ४०० मिटर तथा १९६२ मा ४०० र ४ गुणा ४०० मिटर रिलेमा स्वर्ण जितेका थिए । मिल्खाको जीवनीमा आधारित रहेर ‘भाग मिल्खा भाग’ नामको चलचित्र समेत बनेको थियो । जसमा फरहान अख्तरले अभिनय गरेका थिए ।


















