एजेन्सी । काेरोना भाइरसको एक पछि अर्को भेरियन्टले यतिबेला विश्व त्रसित छ ।
यसको पछिल्लो परिवर्तित रुप डेल्टा भेरियन्ट झन् बढी संक्रामक भएको पाइएको छ । चिन्ताको विषय त यो छ कि, गरिब देशमा १ प्रतिशत भन्दा कम जनताले खोप लगाएका छन् । नयाँ भेरियन्टको चुनौतीलाई मध्यनजर गरेर बेलायतसहित केही देशमा भाइरस विरुद्धको खोपको तेस्रो डोजको विकल्पबारे विचार गर्न थालिएको छ । कयौं देशमा यतिबेला खोपको कमीका कारण भाइरसको नयाँ भेरियन्टको कहर जारी छ ।
भारतमा सबैभन्दा पहिला भेटिएको डेल्टा भेरियन्ट चीनको वुहानमा भेटिएको भाइरस भन्दा तीन गुणा बढी संक्रामक छ। जुन ठाउँमा ३० प्रतिशत व्यक्तिले खोप लगाएका छन्, त्यहाँ पनि यसको संक्रमण तेज गतिमा फैलिरहेको छ । जसकारण डेल्टा भेरियन्टले दुनियाँभर चिन्ताको स्थिती सिर्जना गरिरहेको छ ।
भारतमा हालसम्म भएको जिन स्याम्प्लिङअनुसार ९७ प्रतिशतमा डेल्टा भेरियन्ट भेटिएको छ । त्यस्तैगरि ब्रिटेनमा ९१ र रुसमा ८९ प्रतिशतमा यो भेरियन्ट पाइएको छ । भाइरसको सबै भेरियन्टको विरुद्धका लागि भ्याक्सिन नै अचुक उपाय हो । यसले बिरामीलाई मृत्युको खतराबाट बचाउँछ । तर, डेल्टा भेरियन्ट एकदम द्रुत गतिमा फैलिएकाले यसले रोग प्रतिरोधात्मक क्षमतालाई पनि उछिन्ने वैज्ञानिकहरुले बताएका छन् । अर्कोतर्फ, भ्याक्सिन र उपचारको पहुँच हुनेहरुका लागि यो त्यत्ति घातक छैन । डेल्टा भेरियन्टबाट नराम्रो असर परेको ब्रिटेनमा संक्रमितको मृत्युदर ०.१ प्रतिशत रहेको छ ।
बेलायती वैज्ञानिकको अनुमान अनुसार सावधानी नअपनाउने र खोप नलगाएका जमातमा डेल्टा भेरियन्ट एकैपटक आठजनामा फैलिन सक्छ । यसले संक्रमित व्यक्तिबाट अधिक व्यक्तिमा बिमारी फैलिने खतरा छ । खोप लगाउँदा संक्रमणको गती कम हुन सक्छ तर पूर्ण रुपमा भने रोकिदैंन । तर, खोप लगाएकाबाट संक्रमण फैलिन निकै मुस्किल हुन्छ । बेलायतमा भएको अध्ययन अनुसार अल्फा भन्दा डेल्टा भेरियन्ट ६० प्रतिशत भन्दा बढी संक्रामक छ ।
डेल्टा भेरियन्ट बढी संक्रामक भएकै कारण बेलायतमा फेरि संक्रमण बढ्न थालिसकेको छ । तर, त्यहाँ अधिकांशले खोप लगाएका कारण मृत्युदर बढेको छैन । बिमारीको लक्षणको ट्राकिङ गर्ने बेलायती एपबाट डेल्टाले सामान्य ज्वरो, रुघाजस्ता लक्षण देखिन्छन् । यो अन्य भेरियन्ट भन्दा फरक भएको अध्ययनले बताउँछ ।यसमा सास लिँदा गाह्रो हुने लक्षण निकै कम देखिएको छ ।
खोप लगाएका व्यक्तिहरु डेल्टा भेरियन्टबाट संक्रमित भएमा उनीहरुलाई हाछिउ धेरै आउने विज्ञहरु बताउँछन् । यसले बिरामी तेज गतीमा फैलाउँछ । जसकारण खोपको महत्व बढेको छ । हाल बनेका खोपहरु सबै भेरियन्ट विरुद्ध प्रभावकारी भएकाले भाइरसको अलग भेरियन्टको लागि भिन्नै खोपको आवश्यक पर्दैन । यसको सहज विकल्प अन्य खोपको तेस्रो डोज मानिएको छ ।


















