अतिभारी वर्षाले उपत्यकाका ३८५ घर डुबानमा

132

काठमाडौं । आइतबार रातिदेखि सोमबार बिहानसम्म परेको अतिभारी वर्षाले काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा परेका छन्।

डुबानमा परेका क्षेत्रबाट २४७ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।  महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुललगायतको क्षेत्र डुबानमा परेको जानकारी दिए।
काठमाडौँबाट २३२ र ललितपुरबाट १५ मजदुरको उद्धार गरिएको उनले बताए। विशेष गरी नदीको वरपरका क्षेत्र डुबानबाट प्रभावित भएको जनाइएको छ। अहिलेसम्म डुबानबाट मानवीय क्षति नभएको प्रहरीको भनाइ छ। राति काठमाडौं उपत्यकामा अतिभारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार एक रातमा १२१.५ मिलिमिटर वर्षा भएको छ। महाशाखाका मौसमविद् मीनकुमार अर्यालले केही दिन यताको चर्को घामपछि विकसित भएको  प्रणालीमा बंगलाको खाडीबाट आएको जलवाष्पयुक्त न्यून चापीय क्षेत्र मिसिदा अतिभारी वर्षा भएको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here