काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेर सभापति शेरबहादुर देउवाले पार्टीलाई बद्नाम र कमजोर बनाउँदै लगेको निष्कर्ष निकालेको छ ।
बुधबार महाराजगञ्जस्थित महामन्त्री डा. शशांक कोइरालाको निवासमा बसेको बैठकले सभापति देउवा एकलौटी रूपमा अघि बढ्दा पार्टी बद्नाम र कमजोर हुँदै गएको निष्कर्ष निकालेको केन्द्रीय सदस्य सुजाता कोइरालाले जानकारी दिइन् ।
‘प्रधानमन्त्रीले चार जना मन्त्री बनाउँदा पार्टीमा कुनै पनि छलफल भएन । प्रधानमन्त्री एकलौटी रूपमा अघि बढ्दा पार्टीलाई अप्ठ्यारो भइरहेको छ भने पार्टी कमजोर हुँदै गयो भन्ने निष्कर्ष हाम्रो छ,’ उनले भनिन् ।
प्रधानमन्त्री देउवाले पौडेल समूहबाट दुई जनाको नाम मागेको पनि कोइरालाले बताइन् ।


















