काठमाडाैं । नेपाल बार एशोसिएशन विधीको शासन, मानव अधिकार, स्वतन्त्र, सक्षम, निष्पक्ष न्यायपालिका, लोकतन्त्र, संवैधानिक सर्वोच्चता, पारदर्शी र जवाफदेही सरकार, वालिग मताधिकार, प्रेश स्वतन्त्रता, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन तथा कानून व्यवसायीको हक, हितको सम्बद्र्धन र प्रवद्र्धनको पक्षमा सँधै दृढतापूर्वक उभिएको छ, उभिन्छ । उल्लेखित विषयहरुमा कहिँ कतैबाट हस्तक्षेप वा दखल पुर्याए वा पुर्याउन लागेको अवस्थामा नेबाएले आफ्नो चासो र सरोकार व्यक्त गर्दछ, गर्दै आएको छ ।
नेपालको संविधानले स्थानीय तह, प्रदेश संसद र संघीय संसद, राष्ट्रिय सभा लगायतका निकायको आवधिक निर्वाचनको व्यवस्था गरेको छ । त्यस्ता निकायको शुन्यताको परिकल्पना संविधान र निर्वाचन सम्बन्धी कानूनले गरेका छैनन् । वालिग मताधिकारको आधारमा आवधिक निर्वाचनबाट नै वास्तविक लोकतन्त्रको रक्षा र सम्बद्र्धन हुने कुरामा कसैको दुईमत हुन सकदैन । हाल स्थानीय तहको अवधि समाप्त हुन लागेको र यसको नियमित निर्वाचन गर्ने सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएका विभिन्न समाचारहरुबाट नेबाएको गम्भीर ध्यानाकर्षण भएको छ । कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्ने नगर्ने भन्ने विषय हुन सक्दैन । कुनैपनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानून विपरित मात्र नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जान्छ । तसर्थ नेपालको संविधान र प्रचलित निर्वाचन सम्बन्धी कानून समेतका आधारमा सबै तहका निर्वाचन समयमा नै गरि लोकतन्त्रको रक्षा र सम्बद्र्धन गर्ने कार्यमा लाग्न नेपाल सरकार तथा सम्बन्धित सबैसँग हार्दिक अपिल समेत गर्दछौं ।



















