काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२२ को अक्सनमा विक्नुभएन । यस सिजनको मेगा अक्सनमा लेग स्पिनर सन्दीपलाई कुनैपनि टोलीको बोली नलागेको हो । उहाँमाथि लगातार दोस्रो सिजन कुनैपनि टोलीले बोली लगाएनन् ।
सन्दीपले यसपटक अक्सनमा आफ्नो मुल्य भारु ४० लाख राख्नुभएको थियो । अक्सनको पहिलो दिन शनिबार ‘अनसोल्ड’ हुनुभएका सन्दीपलाई दोस्रो तथा अन्तिम दिन आइतबार साँझसम्म कुनै न कुनै टोलीले अनुबन्ध गर्ने झिनो आशा थियो । तर बैंगलोरमा भएको अक्सनको दोस्रो दिनपनि सन्दीपमाथि कुनै टोलीले चासो देखाएनन् । अन्तिम राउन्डमा हरेक टोलीले आफूलाई चाहेको खेलाडी रोज्ने प्रावधान रहेपनि सन्दीपको भाग्य खुलेन ।
आईपीएलमा यसपदक दुई टोली थप गरिएकोले पनि सन्दीप पर्ने आँकलन गरिएको थियो । तर आईपीएलले स्पिनरभन्दा अलराउन्डर र भारतीय युवा खेलाडीलाई बढी प्राथमितामा राख्नु तथा अघिल्लो संस्करणमा समेत सन्दीप ‘अनसोल्ड’ हुनुलाई यसपटक उहाँ नपर्नुको कारण मानिएको छ ।
सन्दीपलाई यसअघि सन् २०१८ मा तत्कालिन दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) ले अक्सनबाट न्यूनतम २० लाख भारुमा किनेको थियो । सन् २०२० सम्म दिल्लीमा रहेका सन्दीपले नौ खेल खेल्दै १३ विकेट लिनुभएको थियो । गतबर्ष सन्दीपलाई दिल्लीले फुकुवा गरेपछि उहाँ खुला अक्सनमा जानुभएको थियो । उहाँ अक्सनमा रहने एक्लो नेपाली क्रिकेटर हुनुहुन्थ्यो । यस सिजनको आईपीएल अक्सनका लागि नेपालबाट सन्दीपसहित १५ खेलाडीले नाम लेखाएका थिए ।

















