काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनमा दलाल पुँजीपतिहरू पैसा खर्च गरेर आइरहेको भन्दै संघर्ष गर्नुपर्ने बताएका छन्।
सोमबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो जनाएका हुन्।
उनले भने, ‘२०६४ सालको चुनावमा माओवादी भनेर उठाइदिएपछि जितिहाल्ने जस्तो भएको थियो, अहिले त्यस्तो छैन। अब धेरै पैसा खर्च गर्न सकेन भने अनेक खालका तिक्डम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ। गाउँपालिकाको चुनावमा १० करोड रुपैयाँ खर्च गरेर जितेको धेरै ठाउँ देखिएको छ। एउटा गाउँपालिकाको अध्यक्षले १० करोड खर्च गर्ने भनेपछि प्रदेश र संघको चुनावमा त अर्बतिर जाने भयो। श्रमजीवी जनताले अब क्रान्तिकारीहरूले चुनाव लडेर जितेर आउने भनेको सपना जस्तो हुनेभयो। दलाल पुँजीपतिहरू आउने भए। त्यो खतरा दिनप्रतिदित बढ्दो छ।’
अध्यक्ष दाहालले देशमा परिवर्तन ल्याउने काम माओवादीले मात्रै गर्नसक्ने दाबीसमेत गरे। उनले परिवर्तन स्थापित गर्न, संविधान सभाबाट संविधान बनाउन र यसलाई कार्यान्वयन गर्न मुख्य भुमिका खेल्न पार्टी, नेतृत्व, विचार र प्रवृति हाबी नभएसम्म देशले सुख नपाउने पनि जनाए ।
माओवादी बलियो नभएसम्म उत्पीडित वर्ग, जाती र समुदायले सुख नपाउने उनकाे धारणा छ।


















