अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा यूएईविरुद्ध अर्जेन्टिनाको पाँच गोल

48

दुबई । एन्जल डी मारियाको दुई गोलप्रेरित अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा यूएईलाई ०–५ गोलको नतिजामा पराजित गरेको छ। आवुधावीमा बुधबार राति भएको खेलको १७ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

त्यसको आठ मिनेट नबित्दै डी मारियाले गरेको गोलसँगै अर्जेन्टिनाले अग्रता दोब्बर पारेको थियो। डी मारियाले ३६औं मिनेटमा गरेको दोस्रो गोलसँगै अग्रता ०–३ मा पुर्‍याएको थियो।

पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी रहँदा कप्तान लियोनेल मेसीले गोल गर्दै मध्यान्तरअघि ०–४ मा अग्रता लम्ब्याएका थिए।

दोस्रो हाफमा सम्हालिने कोसिस गरेको यूएईविरुद्ध ६०औं मिनेटमा जोआक्विन कोरेयाले पाँचौं गोल गरेका थिए। विश्वकपको तयारी स्वरुप खेलेको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले शानदार जित निकालेको छ।

आइतबारदेखि सुरु हुने विश्वकपको समूह ‘सी’मा परेको अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरबसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने भएको छ। यस्तै नोभेम्बर २७ मा मेक्सिको र डिसेम्बर १ मा पोल्यान्डसँग खेल्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here