काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा क्वाटरफाइनलसम्मको खेल सकिँदा उपाधि कसले जित्ला भन्ने कौतुहलता बढ्दै गएको छ । ६४ मध्ये ६० खेल सकिएका छन् र क्रोएसिया, अर्जेन्टिना, फ्रान्स र मोरक्को सेमिफाइनल पुगेका छन् । यी मध्ये एकले उपाधि जित्ने पक्का छ ।
विश्वकपमा केही व्यक्तिगत पुरस्कारहरु समेत राखिएको छ । जुन कसले जित्ला भनेर सबैलाई चासो हुन्छ । त्यसमध्ये गोल्डेन बुट अवार्ड एक हो ।
धेरै गोल गर्नेमा दोस्रो हुनेले शिल्भर बल र तेस्रो हुनेले ब्रोन्ज बल पाउनेछन् । चार वर्षअघि रुसमा भएको विश्वकपमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए । यसपटक केनको टिम क्वाटरफाइनलबाटै बाहिरिसकेको छ ।
तीन गोल गर्ने ७ खेलाडी भने यस होडबाट बाहिरिसकेका छन् । उनीहरु खेल्ने देश विश्वकपबाट बाहिरिसकेकोले ७ खेलाडीको चुनौती सकिएको छ । पोर्चुगलका गोन्सालो रामोस, स्पेनका अल्भारो मोराटा, इंग्ल्याण्डका मार्कोस रासफोर्ड र बुकाय साका, इक्वेडरका इनर भ्यालेन्सिया, ब्राजिलका रिचार्लिसन र नेदरल्याण्ड्सका कोडी गाक्पोले ३ गोल गरेका थिए ।
पोर्चुगलका रामोस एकै खेलमा तीन गोल गर्दै जारी विश्वकपमा ह्याट्रिक गर्ने एक्लो खेलाडी हुन् ।
२१ खेलाडीले २-२ गोल गरेका छन् । जसमध्ये १८ खेलाडी यो होडबाट बाहिरिसकेका छन् । सेमिफाइनल पुगेका मध्ये अर्जेन्टिनाका युलियन अल्भारेज, क्रोएसियाका आन्द्रे क्रामारिक र मोरक्कोका युसुफ एन नेस्री भने अझै पनि होडमा छन् ।
केलियन एमबाप्पे (फ्रान्स)
२३ वर्षीय युवा स्टार एमबाप्पेले जारी विश्वकपमा सर्वाधिक ५ गोल गरिसकेका छन् । उनले दुई असिस्ट समेत गरेका छन् ।


















