काठमाडौं। काठमाडौं उपत्यका भित्र स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहिन नक्कली मदिरा उत्पादन र कालोबजारी भइरहेको खुलेको छ। नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले नक्कली मदिरा उत्पादन र कालोबजारीमा संलग्न गिरोह नै फेला पारेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार लामो अनुसन्धानबाट नक्कली मदिरा उत्पादन र कालोबजारी गर्ने समूहमा संलग्न गिरोह फेला परेको हो।
नेपाल प्रहरीको अपराध अनुसन्धानको विशेष टोलीले माघ १३ गते ललितपुर महानगरपालिका १ कुपण्डोलमा निरज उप्रेतीले सञ्चालन गरेको नेक्स टेस्ट लिक्वयर स्टोरमा खानतलासी गरेर नक्कली खुकुरी रम फेला पारेपछि यसमा संलग्न अन्य गिरोहको खुलासा हुँदै गएको थियो।
अपराध अनुसन्धानको विशेष टोलीले माघ १४ गते शनिबार ललितपुर महालक्ष्मी नगरपालिका ५ टिकाथलीका विभिन्न स्थानमा स्वदेशी तथा विदेशी ब्राण्डका मदिराको नाम लिएर नक्कली मदिरा बनाउन प्रयोग हुने केमिकल, रक्सीका खाली बोतल, राजस्व अन्त शुल्कको स्टिकर तथा लेवलिङ एवम् प्याकेजिङ गर्ने मेसिन बरामद गरेको छ।
अनुसन्धानका क्रममा प्रहरीले काठमाडौं मित्रनगरमा धर्मी गौडेलले सञ्चालन गरेको एसटी लिक्वायर स्टोरमा खानतलासी गरेर गुणस्तरहिन खुकुरी रम, रुस्लान भोड्का ब्राण्डका मदिासमेत बेचविखनमा राखेको खुलासा गरेको छ।

नक्कली मदिरा उत्पाद र बिक्री वितरणमा संलग्न स्टोलका सञ्चालक धर्मी गौडेलसहित निरज उप्रेती र गणेश बहादुर रानामगरलाई पक्राउ गरेर विशेष अनुसन्धान टोलीले थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाएको छ। नक्कली मदिरा उत्पादन र बेचबिखनमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो।
प्रहरीका अनुसार नक्कली मदिरा बनाउने र कालोबजारी कसुरमा पक्राउ परेका आरोपितमाथि प्रहरी परिसर काठमाडौंले यसअघिसमेत कालो बजार, सामाजिक अपराथ तथा सजाय ऐन कसुरमा मुद्दा दर्ता भएको खुलेको छ। यसअघि २०७९ भदौ ८ गते कालोबजारी कसुरमा मुद्दा दर्ता भएको खुलेको हो।
प्रहरीले उनीहरुको साथबाट ठूलो परिणाममा स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली मदिरा र खाली बोतल बरामद गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कोइरालाले जानकारी दिनुभयो। गाेरखापत्र


















