काठमाडौं । बुढानिलकण्ठ नगरपालिकामा रहेका स्कुलमा गरिएको एउटा अध्ययनले १५५ जना बालबालिका मुटु रोगी रहेको देखाएको छ। शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले १३ हजार १ जना बालबालिकामा गरेको अध्ययनमा ९ जनामा मुटुको बाथ र १४६ जनामा जन्मजात मुटुसम्बन्धी रोग देखिएको हो।
१९ वटा सरकारी स्कुलका ३ हजार ८२० जना र निजी स्कुलका ९ हजार १८० जना ५ देखि १५ वर्षका बालबालिकामा यसबारे स्क्रिनिङ गरिएको अस्पतालका निर्देशक डा चन्द्रमणि अधिकारीले बताए। उनले भने, ‘रोग पत्ता लागेका एकजनाको शल्यक्रिया गर्नु परेको थियो।
१५ वर्षसम्मका बालबालिकाको मुटुको उपचार सरकारले निःशुल्क गरेको छ।’ बुढानिलकण्ठपछि मुगु जिल्ला र धादिङको धुनिबेँशी गाविसमा यसबारे अध्ययन गर्ने तयारी रहेको डा अधिकारीले बताए। जन्मजात मुटु रोग सचेतना सप्ताहको अवसरमा केन्द्रले आयोजना गरेको कार्यक्रममा उक्त रिपोर्ट सार्वजनिक गरिएको थियो।


















