-सन्तोष नेम्बाङ्ग इलाम
वनस्पति जगतमा सबै भन्दा बढी महत्वका साथ प्रयोग गरिने बस्तुहरु मध्ये फूल पर्दछ । फूलको महत्व धेरै जसो भौगोलिक क्षेत्रदेखि जातिय, वर्ग, लैंगिक विशेषता अनुसार छुट्टाछुट्टै रुपमा उल्लेख गरेको पाईन्छ । वास्तवमा फूलले सबै प्राणीजगतको मन मस्तिकमा सुन्दरता,आनन्द, प्रेम, शान्ति आदिकोे प्रतिकको रुपमा स्थान पाएकोे छ । गीत संगित देखि साहित्यमा पनि फूललाई विशेष विम्ब, प्रतिकको रुपमा प्रयोग गर्ने गरिन्छ । जस्तो गीतकार दुर्गालाल श्रेष्ठले “फूलको आँखामा फूलै संसार देखे ”, गायिका आनीछोइङ डोल्माको गलामा “फूल किन फुल्छ”, मदन पुरस्कार विजेता बिष्णु कुमारी वाइबालाई त झन साँझ परेपछि झरी जाने फूल “पारिजात” जस्तै शिरिषको फूलले नै परिचित गराए भने मदन पुरस्कारबाट साहित्यकार झमक घिमिरे “जीवन काँडा कि फूल” कीर्तिबाट सम्मानित हुनु भयो । साहित्यमा मात्र नभएर मानविय दैनिक जीवनमा पनि फूलको ठूलो महत्व र प्रयोग छ । पूजा अर्चना गर्न,घर देखि कोठा सजाउन, विशेष अवसरमा बधाई तथा शुभकामना आदानप्रदान गर्न, अनि प्रेमीप्रेमिका बीच उपहार लिन दिन फूलको नै प्रयोग हुने गरेको छ । त्यस्तै बिभिन्न किसिमका देवीदेवतादेखि मठमन्दिरहरुमा पनि पूजाको प्रकृति हेरी फूलको प्रयोग छुट्टाछुट्टै हुने गरेको पनि पाईन्छ । किरात मन्दिरहरुमा सेतो रङ्गको फूलहरु मात्र प्रयोग गर्ने गरिन्छ भने हिन्दु मठमन्दिरहरुमा प्राय सबै रङ्ग र जातको फूलहरु चढाउने गरिन्छ । त्यस्तै पश्चिमा मुलुकमा भने विभिन्न जात र रङ्गहको फूलहरुलाई विभिन्न अर्थमा प्रयोग गर्ने गर्छन् । प्रणय दिवशको दिन भविष्यमा श्रीमान् श्रीमतीको छनक दिन रातो गुलाफको आदानप्रदान गरिन्छ । त्यस्तै पहेलो गुलाफले असल साथीको संकेत गर्छ भने सेतो गुलाफले विछोड वा विदाईको संकेतका रुपमा प्रयोग गर्ने गरेको पाईन्छ । फूलको महत्व र विशेषता आ-आफ्नो किसिमको छ लिम्बू जाती संस्कृतिमा पनि फूलले विशेष महत्व राख्दछ ।
लिम्बूहरुको धर्मशास्त्र मुन्धुममा फूललाई जीवनको प्रतिकको रुपमा उल्लेख गरिएको छ । विभिन्न जाति, प्रजातिका फुलहरुलाई बिभिन्न किसिमका प्राणी, मानव र प्रेतात्माहरुको प्रतिकको रुपमा लिने गरिन्छ । मुन्धुम शास्त्र अनुसार प्रत्येक मानवको प्रतिकको रुपमा अर्को लोकमा एउटा फूल हुन्छ । अर्को लोकमा फूलेको त्यो फूल राम्ररी फुली र¥यो भने त्यो मानवको जीवनमा सुस्वास्थ्य,दिर्धायु, सुखसमृद्धी एवम् उन्नती प्रगति हुन्छ भन्ने मान्यता छ । तर त्यो फुल फूल्न सकेन, ओईलाएको छ वा मुर्झाएको छ भने त्यो मानवको जीवनमा प्रतिकुल असर पर्छ भन्ने विश्वास गरिन्छ । त्यसैले अर्को लोकमा भएको मानव प्रतिकको रुपमा रहेको फूललाई ओईलाउन नदिई ढकमक फुलाउनको लागि विभिन्न किसिमका धार्मिक अनुष्ठानहरु लिम्बू समुदायले गर्ने गर्छन् । जस्तो नाहेन्-नाहाङ्गमा, फुङमा चामा तथा माङगेना पूजा गर्ने गरिन्छ । ती अनुष्ठानहरु रामरी गरिएमा अन्य मानिसको आँखी डाही नलाग्ने, गर्वका साथ शिर उठाउने र जीवनमा सुखसमृद्धी उन्नती प्रगति हुने मान्यता छ । ती अनुष्ठानमा मानवको शिर उठाउने कार्य माङगेना गर्दा अर्को लोकमा भएको मानव प्रतिक रुपी फूललाई बचाई फुलाउने काम गरिन्छ । फेदाङमाद्धारा यी अनुष्ठान पूरा गरेपछि लिम्बूहरुले आफूलाई पुनः जागरित भएको पाउछन् र गर्वका साथ शिर ठाडो गरी बाँच्छन् ।

लिम्बू मुन्धुम शास्त्र अनुसार अर्को फूल सेक्मुरी फूललाई मानव प्रतिकको रुपमा लिईन्छ । यो फूल राम्ररी फुल्नु, फैलनुलाई शुभ संकेत मानिन्छ । त्यस्तै मित्किते फूङ अर्थात लंकाशनी वा आँखा तरुवा फूल (Mirabilis Jalapa) भने मृत आत्माको प्रतिकको रुपमा चिनिन्छ । त्यसैले यो फूल पूजा अर्चनामा प्रयोग गरिन्दैन । बाबरी फूल वा अन्दङ्ग फूङ (Ocimum basilicum) लाई बाघ वा जनावरको प्रतिक मानिन्छ । लिम्बू मुन्धुम अनुसार च्याबु्रङ “केङ” बाजाको उत्पति मा बाघ र मान्छेको युद्ध हुँदा उनीहरुको आमाले बाघको प्रतिक अन्दङ्ग फूङ र मानव प्रतिक सेकुमारी फूङलाई हेरेर युद्धको अवस्थाबारे थाहा पाईन् भन्ने कथा वा मुन्धुम रहेको छ । त्यस्तै प्राय जसो पहाडी क्षेत्रको वनजंगलमा फूल्ने रातो सुगन्धित सुनाखरी (a kind of red sweet-smelling/fragrant/aromatic orchid) अर्थात सिङजाङ्गो फूङ चाही तरुनी-तन्नेरीहरुले माया गास्न आदानप्रदान गर्ने गरेको कथा मुन्धुमशास्त्रमा उल्लेख छ । लिम्बू मुन्धुममा अनिवार्य रुपमा फलाकिने अर्को महत्वपूर्ण फूल हो जसलाई कक्कफेवा फूङ अर्थात चाँपको पूmल भनिन्छ । चाँप किसानहरुले लगाएको अन्न बाली पाके पछि फूल्ने हुँदा चाँप फुलेको यामलाई नयाँ बर्षको रुपमा लिइन्छ । योे समयलाई लिम्बूजातिले कक्कफेवा तङनाम वा कुसङ तङवे अर्थात नयाँ बर्ष को चाडको रुपमा मनाउने गर्दछन् । चाँप फूल्नु भनेको लिम्बू संस्कृतिमा नव बर्ष शुरु भएको शंकेत हो , जसरी जापानमा साकुरा (आरु फूल) फुल्नुलाई नयाँ बर्षको आगमन भन्ने बुझिन्छ ।

लिम्बूजातिको मुन्धुम शास्त्रमा धेरै किसिमका फूलहरुको आ-आफ्नो पहिचान र महत्व छ । यस को खोज अनुसन्धान गरी वनस्पती जगतमा संस्कृति र प्रकृतिको अन्योन्याश्रित सम्बन्धलाई संरक्षण र उपयोग गर्न सकिन्छ । लिम्बू जनजीवनमा फूललाई संस्कृति र प्रकृतिसित जोडेर गरिने धार्मिक अनुष्ठानलार्ई फुङवा चामा भनिन्छ । यस्तो अनुष्ठानहरु प्रत्येक लिम्बूहरुले गर्ने हुँदा लिम्बूसमुदायको जीवन फूल जस्तै सुन्दर, शान्त, प्रेमयम, धार्मिकसहिष्णुतायुक्त छ भन्ने उद्घोष गराउँछ ।
9862747794



















