युवा जनशक्ति विदेशिने कहालीलाग्दो देशको अवस्था !

63
युवा जनशक्ति विदेश पलायन अहिले नेपालको प्रमुख समस्या हो । देशमा विभिन्न समयमा व्यवस्था परिवर्तन भए पनि यो समस्या समाधान गर्न भने कुनै पनि सरकारको ध्यान पुग्न सकेको छैन । पछिल्लो डेढ दशकयता त जनशक्ति विदेशतर्फ जाने क्रम अत्यधिक बढेको छ । हाल दैनिक सयौंको संख्यामा युवा विदेश जाने गरेका छन् । यो त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जानेको संख्या मात्र हो । स्थलमार्गको सीमाबाट भारत र अन्य देशमा जाने पनि उत्तिकै छन् । यस्तै विदेशमा अध्ययनका लागि जाने युवा शक्ति पनि झनै बढिरहेको छ । उनीहरु अध्ययनका लागि गएको भनिए पनि पछि त्यहीँ नै रोजगारी गरेर बस्ने निश्चित छ ।
युवा शक्ति भनेको कुनै पनि देशको ठूलो पुँजी हो । नेपालमा अहिले अत्यधिक संख्या युवाको नै छ । यस्ता अवस्था एउटा देशका लागि विरलै मात्र आउँछ । युवा शक्ति धेरै भएको अवस्थामा नै देशले विकासमा फड्को मार्न सक्छ । तर, अहिले हामीले यो युवाशक्तिलाई सदुपयोग गर्न सकेका छैनौं । युवा शक्ति विदेशिनु उनीहरूको रहर नभई बाध्यता हो । देशमा न क्षमता र दक्षताअनुसारको काम नपाउनु, काम पाए पनि कामअनुसारको पारिश्रमिक नपाउँदा उनीहरु विदेश जाने गरेका छन् ।
युवाशक्ति विदेशिँदा अहिले देशको कृषिदेखि धेरै क्षेत्रको अवस्था सुस्त छ । मुलुक सबै वस्तुको लागि आयातमा निर्भर हुनुपरेको छ । त्यसैले देशको अर्थतन्त्र पनि समस्यामा पर्दै आएको छ । हाम्रो देश कृषिप्रधान भनिए पनि त्यसअनुसार उत्पादन भने गर्न सकेका छैनौं । यसको प्रमुख कारण हो, राजनीतिक दल जो सरकारमा सहभागी छन्, तिनका नेताहरु युवा पलायन रोक्ने, अर्थतन्त्रलाई बलियो बनाउने भन्दा पनि सत्ताको दाउपेचमा नै व्यस्त रहनु । अहिले पनि मुलुकको अवस्था यस्तै छ । करिब ४ महिनामा सरकारले दुई पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको छ । सरकारलाई समर्थन दिएका दलहरुहरु हेरफेर हुने क्रम छ । गत चुनावयता ६ महिनामा सरकारमा पर्याप्त मन्त्री छैनन् । त्यसकारण ती मन्त्रालयले गर्ने काम पनि सुस्त छ ।
त्यसकारण पहिला सरकारलाई पूर्णता दिन र त्यसपछि युवा पलायन रोक्ने अभियान चलाउनु अत्यावश्यक भइसकेको छ । देशमा नै भएका युवालाई कृषि, उद्योग तथा अन्य स्वरोजगार लाग्न प्रेरित गर्ने अभियान सरकारले चलाउनुपर्छ । त्यस्तै, विदेशिएका प्रतिभालाई देश फर्काउने अभियान पनि चलाउनु पर्छ, जसका लागि स्पष्ट नीति र योजना आवश्यक छ । युवा प्रतिभालाई स्वदेश फर्काउने र विदेश जान नपर्ने वातावरण निर्माण गर्नुपर्छ । युवाहरूलाई बाहिर पठाएर देशले कहिले पनि समृद्धि हासिल गर्न सक्दैन । विकासको मूल प्रवाहमा युवालाई प्रत्यक्ष सहभागी गराउन राज्यले युवामा लगानी बढाउनुपर्छ । लगानीमैत्री वातावरण सिर्जना गरेर थप रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्छ । अध्ययनसँगै रोजगारीको ग्यारेन्टी गर्नुपर्छ , आगे सरदारहरुलाई चेतना भया !  जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here