उपप्राध्यापकमाथि सांघातिक आक्रमणको मुद्दा फिर्ता बारे प्रश्न उठाए

103
काठमाडाैं । नेकपा एमालेकी सांसद मेनका कुमारी पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथिको सांघातिक आक्रमणको मुद्दा फिर्ता लिएको बारे प्रश्न उठाएकी छन्।

 

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पोखरेलले मुद्दा फिर्ता लिएर सरकारले विश्विविद्यालयलाई रणमैदान बनाउन खोजेको समेत आरोप लगाएकी छन्।

‘उपप्राध्यापक चलाउनेमाथिको सांघातिक आक्रमणको मुद्दा फिर्ता लिएर सरकारले विश्वविद्यालयलाई रणमैदान बनाउन खोजेको हो कि शैक्षिक संस्था बनाउन खोजेको हो ?,’ उनले प्रश्न गरिन्।

उनले अगाडि भनिन्, ‘अपराधीलाई छुटाएर संरक्षण गरेर तिमि जे सुकै गर हामी जोगाउँछौ त्यहाँ पढाइ हुनुपर्दैन भनेर भएजति युवाहरूलाई विदेश पलायन गर्ने र विदेशमा पढ्न पठाउने र देशलाई कंगाल बनाउने स्थितिको सिर्जना गर्न खोजिएको हो?’

२०७७ साल असोज २० गते नेविसंघका त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल लगायत सात जनाले उपप्राध्यापक चलाउनेमाथि कुटपिट गरेका थिए।

कुटपिटबाट घाइते भएका उपप्राध्यापकको ज्यान मार्ने उद्योग कसुरको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। त्यसको मंगलबार अदालतमा पेशी समेत छ।

अदालतमा विचाराधीन रहेको अवस्थामा मन्त्रिपरिषदले मुद्दा फिर्ता गर्ने निर्णयको पत्र आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमार्फत महान्यायाधिवक्ता कार्यलय हुँदै सरकारी वकिलको कार्यालय काठमाडौंमा पुगेको हो। कार्यालयले उक्त निर्णय प्राप्त गरेसँगै मुद्दा फिर्ता गरेको पत्र काठमाडौं जिल्ला अदालतमा पुगिसकेको छ।

एमालेकी अर्का सांसद  सुनिता बरालले पनि सरकारको कदमले नागरिकहरूलाई परेको समस्यामा राज्य छैन भन्ने सन्देश पुगेको बताएकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here