काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असोज २ गते हुने राष्ट्रिय शिक्षा दिवसका अवसरमा पहिलो पटक नेपाल प्रविधि विद्याभूषण र समाज कल्याण शिक्षा पुरस्कार प्रदान गर्ने भएको छ ।
नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७ पुरस्कार थपिएका हुन् ।
यस्तै सडक बालबालिका, एचआइभी एड्स सङ्क्रमितका सन्तान, अशक्त तथा असहाय बालबालिकालाई पालनपोषणसहित शिक्षा प्रदान गरी राष्ट्रियस्तरमा उल्लेखनीय योगदान दिएका व्यक्ति र संस्थालाई यो पुरस्कार दिइने मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।
सो पुरस्कारका लागि यही भदौ २२ गतेभित्र आवश्यक कागजातसहित सिफारिस वा आवेदन दिन मन्त्रालयले सूचना जारी गरेको छ । बढीमा पाँच जनालाई अधिकतम रु पाँच लाखसम्मका दरले यो पुरस्कार दिइने छ ।
दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्याभूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्दै आएको छ ।
दिवस मनाउन शिक्षामन्त्री अशोककुमार राईका अध्यक्षतामा गठित मूल समारोह समितिको मातहतमा सहसचिव डा.हरि लम्सालका संयोजकत्वमा रहेको पुरस्कार चयन उपसमितिले पुरस्कार सिफारिस गर्नेछ । रासस

















