काठमाडौं । श्रीमतीको हत्या गरेको अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका प्रतिवादीलाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार सर्वस्वसहित जन्मकैद पाएका धादिङका सूर्यबहादुर दवाडीलाई नेपाल प्रवेश गर्न लाग्दा पक्राउ गरिएको हो ।
धादिङको ज्वालामुदी गाउँपालिका-१ का दवाडीले अंश विवादमा श्रीमतीको हत्या गरेका थिए । प्रहरीका अनुसार ‘अंश सम्बन्धी विषयमा झगडा भई आफ्नै श्रीमती सानुमाया दवाडीलाई कुटपिट गरी नाम्लोले घाँटीमा कसि कर्तव्य गरी रूखमा झुण्डाई हत्या गरी लासलाई धादिङ जिल्ला मैदीस्थित ग्याल्मा र बुढी गण्डकीको दोभानमा लगि जलाई सतगद गरेको कर्तव्य ज्यानसम्बन्धी अनुसन्धानमा धादिङ जिल्ला अदालतको २०६१ जेठ ५ को फैसलाले प्रतिवादी सूर्यबहादुर दवाडीलाई सर्वस्वसहित जन्मकैद र सर्वोच्च अदालतको मिति २०६७ माघ ३ गतेको फैसला पुनरावेदन अदालत पाटनको फैसला उल्टी भई धादिङ जिल्ला अदालतको मिति २०६१ जेठ ५ गतेको फैसलालाई सदर गरेको थियो ।’
















