इ. सितु सैंजु
परिचय
प्राचीन शहर पनौतीमा मनाइने जिवन्त र ऐतिहासिक चाड हो पनौती जात्रा । वर्षै पिच्छे मनाइने यस जात्रा साँस्कृति, सामाजिक मूल्यहरू, आर्थिक गतिविधिहरू र कृषि महत्वको संगम हो । पनौतीको जात्रा तीन दिन जेष्ठ त्रयोदशी, चतुर्दशी र पूर्णिमासम्म चल्दछ । त्रयोदशीको दिनलाई डुईचा ङायकेगु भनिन्छ । स्थानिय समुदायमा त्रयोदशीको दिनलाई कुलक्या पनि भन्ने गरिन्छ भने चतुर्दशीको दिनलाई मु जात्रा भनिन्छ । यो दिन बिहानैदेखि ब्रम्हायणी लगायत नगरको सम्र्पूण प्रमुख मन्दिरहरुमा सर्वसाधारणको भिड लाग्छ । तेस्रो दिन जेष्ठ पूर्णिमाको दिन टाढाटाढाबाट जात्रा हेर्न आउने मानिसहरूको ठुलो भिड लाग्छ । पनौतीको लायकु डबलीमा इन्द्रेश्वरमहादेव, भद्रकाली र उन्मत्तभैरवका रथहरू एक–आपसमा जुधाई जात्रा गरिन्छ ।
पौराणिक कथन
पनौती जात्राका बारे रोचक पौराणिक कथाहरू छन् । यो साँस्कृतिक कार्यक्रम जेष्ठको पूर्णिमाको पाँच दिन अघि सुरु हुन्छ र पूर्णिमाको तेस्रो दिनमा समाप्त हुन्छ र यो जात्रा कुल नौ दिनसम्म चल्छ । यद्यपि, पूर्णिमाको तीन दिन सबैभन्दा महत्वपूर्ण दिन हो ।
द्यः क्वाहा बिज्याइगु
जेष्ठ शुक्ल दशमीलाई द्यः क्वाहा बिज्याइगु (देवता तल झर्ने) दिन भनिन्छ । यस दिन, भद्रकाली, भैरव र ब्रम्हायणीको पूजा गरिन्छ । जात्राको तीन महत्वपूर्ण दिनमध्ये पहिलो दिनलाई कुल्क्या भनिन्छ । यस दिन, पुण्यमता नदीको झोलुङ्गे पुल पार गर्ने रोमाञ्चक जात्रा गरिन्छ, यस पूजालाई दुईचा न्यायकेगु भनिन्छ । जात्राको दोस्रो दिनलाई मुजात्रा भनिन्छ । यस दिन मन्दिरहरुमा बलि दिइे नगरबासीहरुले आफ्नो क्षमता अनुसार भोज गर्छन् ।
जेष्ठ शुक्ल पूर्णिमा
जेष्ठ शुक्ल पूर्णिमा पनौती जात्राको अत्यन्त महत्वपूर्ण दिन हो । सर्वप्रथम यस दिन ब्रम्हायणीलाई रथमा राखेर नगर परिक्रमा गराइन्छ र लायकु दरबारको प्रांगणमा रहेको पुलिस पाटीमा पु¥याइन्छ । त्यसपछि भद्रकाली, भैरव र महादेवका मूर्तिहरूलाई सम्बन्धित रथमा राखिन्छ । परम्परागत बाजा बजाउँदै रथयात्रा गरिन्छ । विभिन्न संगीतको गुञ्जनबीच, द्वारे (शाही प्रतिनिधि) भद्रकालीको रथमा बस्दछ । सबैभन्दा पहिले, महादेवको रथ प्रजापति खलकले उठाउँछन्े । पनौतीका बासिन्दाहरूले भद्रकाली र उन्मत्त भैरवको रथ तानेर लायकु दरबारको प्रांगणमा पुर्याउँछन् । सुरुमा, भैरव र भद्रकालीको रथ र पछि महादेव र भद्रकालीको रथ तीन पटक जुधाइन्छ । यसलाई देवता र देवीहरूको यौन सम्पर्कको प्रतीक मानिन्छ ।
साँस्कृतिक पहिचान, विविधता र एकता
पनौती जात्रा परम्परागत साँस्कृतिक उत्सव हो, पनौती जात्राले पनौती सहरको विविध सांस्कृतिक धरोहरलाई जीवित राख्दछ । यो जात्राले स्थानीय समुदायहरूलाई एकत्रित गरेर आपसी सहयोग र भाइचारा बढाउँछ । जात्रामा सहभागी सबै समुदायले एकसाथ मिलेर देवता र देवीहरूको पूजा, रथयात्रा, र सांस्कृतिक कार्यक्रमहरूमा भाग लिन्छन्, जसले सामाजिक एकता र सांस्कृतिक विविधता झल्काउँछ । पनौती जात्राको महत्वपूर्ण पक्ष भनेको परम्परागत नृत्य र संगीत हो ।
स्थानीय कलाकारहरूले नेवारी भेषभूषामा सजिएर विभिन्न नृत्य प्रस्तुत गर्छन् । यी सांस्कृतिक प्रस्तुतिहरूले पुराना परम्पराहरूलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न मद्दत गर्छ । यस जात्रामा तामाङ समुदायका सहभागीहरु जात्रा अवधि सम्म दोहोरी र जुहारी खेल्छन्, यसले तामाङ सँस्कृतिलाई समेत जिवन्तता प्रदान गर्दछ ।
पनौती जात्राले स्थानीय समुदायलाई आफ्ना सांस्कृतिक र धार्मिक परम्पराहरूको महत्व बुझ्न र तिनलाई संरक्षण गर्न प्रेरित गर्छ । जात्रामा सहभागी हुँदै स्थानीयहरूले आफ्ना पूर्वजहरूको परम्परालाई सम्झिन्छन् र नयाँ पुस्तालाई तिनको महत्व बुझाउँछन्। यसरी, पनौती जात्राले स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्छ ।
धार्मिक अनुष्ठान र उत्सव
जात्राको क्रममा विभिन्न धार्मिक अनुष्ठान र उत्सवहरू सम्पन्न गरिन्छ । जेष्ठ पूर्णिमालाई पनौतीको त्रिवेणी घाटमा स्नान गर्ने जसमा पवित्र दिनको रुपमा पनि लिइन्छ । धार्मिक मान्यताअनुसार, यस जात्रामा रथ जुधाइ सकेपछि त्रिवेणी घाटको बासुकी नागको मुनि स्नान गरेमा दिव्य आशीर्वाद प्राप्त हुन्छ । यसले पानी र नदिको स्वच्छतालाई महत्व दिए पनि अनियन्त्रित मानविय गतिविधिले खोला तथा पानीका स्रोतहरु प्रदुषित भएको कारण यसले पनौती स्नानको महत्वलाई ओझेलमा पारेको छ ।
आर्थिक प्रभाव
यो चाड पनौती र वरपरका क्षेत्रहरूको लागि महत्वपूर्ण आर्थिक निहितार्थहरू छन् । जात्राको क्रममा पर्यटकहरूको आवागमनले स्थानीय अर्थतन्त्रलाई बढावा दिन्छ, खानपान, आवास, र स्थानीय उत्पादनहरूको माग बढाउँछ । यस जात्राको अवसरमा परम्परा देखिनै पाँचखाल, कोशीपारी, दोलालघाट, डाँडापारी जस्ता बिकट र ग्रामिण क्षेहहरुबाट घुम, चिररी, केरा, बाँसका सामग्रीहरु बेच्न ल्याउँन् । वर्षायाममा पानीबाट बच्न घुमको प्रयोग गर्ने प्राचिन समयमा यस जात्रामा घुमको अत्याधिक व्यापार हुने हुँदा यस जात्रालाई घुम जात्रा समेत भनिन्छ । चिउरीको ब्यापार पनि पनौती जात्रा विशेष्ता नै भएकाले पनौतीको जात्रा चिउरीको व्यापार समेत भनिन्छ । आजभोली देशको विभिन्न स्थानबाट समेत विभिन्न व्यापार गर्न हप्तौं सम्म व्यापारीको घँुइचो लाग्छ, जात्राले स्थानीय व्यवसायहरूलाई फस्टाउने अवसर प्रदान गर्दछ, जसले गर्दा क्षेत्रको समग्र आर्थिक विकासमा योगदान पुर्याउँछ ।
सामाजिक गतिशीलता
पनौती जात्राले समुदाय र सामाजिक एकता को भावना बढाउँछ । यो परिवार र साथीहरू एकसाथ आएर उत्सव मनाउने समय हो, जसले सामाजिक सम्बन्धलाई सुदृढ बनाउँछ । चाडले युवा पुस्तालाई परम्परागत अभ्यासहरू सिक्न र सहभागिता गर्ने अवसर प्रदान गर्दछ, जसले तिनीहरूको सांस्कृतिक सम्पदाको संरक्षण सुनिश्चित गर्दछ । जात्रामा सामाजिक पदानुक्रम र भूमिकाहरूले विभिन्न समुदाय समूहहरूलाई जात्राको संगठन र कार्यान्वयनमा विशिष्ट जिम्मेवारीहरू प्रदान गर्छ । जात्राको क्रममा विभिन्न जातीय समूहहरूबीच आपसी सहयोग र भाइचारा बढ्छ, जसले सामाजिक संरचना बलियो बनाउँछ ।
कृषि पक्षहरू
कृषिले पनौतीका मानिसहरूको जीवनमा महत्वपूर्ण भूमिका खेल्छ, र यो जात्रामा पनि परिलक्षित हुन्छ । ज्याः पुन्हीको नामले चिनिने ज्येष्ठ शुक्ल पुर्णिमा ( तछलाथ्व पुन्ही) लाई नेवार समुदायले एक महत्वपूर्ण पुर्णिमाको रुपमा लिने गर्दछन् । यसै दिनलाई खेतीपाती तथा धान रोपाइँको सुरुवात मानिन्छ । यसै दिनबाट आफ्नो चाडपर्व, भोजहरु, तथा पुजाहरु जाने जस्ता कार्यहरुलाई पुर्णविराम दिई सबैजना रोपाइँको काममा व्यस्त हुने भएकोले यस पुर्णिमालाई ज्याः पुन्ही अर्थात् कामको सुरुवात हुने पुर्णिमा ( रोपाइँको पुर्णिमा) भनिएको हो । यसरी पुर्णिमा देखि सुरु हुने यस रोपाइँ कार्यको अविधिलाई स्थानियहरु सिनाज्या÷सिन्हा ज्या भन्ने गर्दछन् । तत्कालीन समयमा आफ्नो वर्षभरीको मुख्य अन्न नै चामल हुने गरेकोले रोपाइँलाई एकदमै महत्व दिएको पाइन्छ । कथन अनुसार पहिलेको समयमा यस रोपाइँको चटारो बेला घरको कुनै सदस्यको मृत्यु भयो भने पनि सो लासलाई घरको दक्षिण तर्फ राखेर खेतिमा लाग्नु पथ्र्याे र दाहसंस्कार ढिला गरिन्थयो । रोपाइँको समयमा राम्ररी रोपाइँ गरिएन भने परिवारमा अन्नको अभावको समस्या आउने भएर मरेर भएपनी मिहेनत गरि काम गर्नुपर्ने भएकोले यस अविधिलाई सिनाज्याः ( मर्ने गरि काम गर्न पर्ने कार्य) भनिएको मानिन्छ ।
ज्याः पुन्हिको दिन गरिने अर्को महत्वपूर्ण कार्य भनेको भुमी पुजा हो । लगभग हराइसकेको यो प्रचलन अनुसार पुर्णिमाको दिन घरको सबैभन्दा ज्येष्ठ सदस्यले आफ्नो खेतमा गइ पुर्व दिशा फर्केर पुजा गर्ने गर्दछन् । त्यसको ३ दिन पछि फेरि खेतमा चाहिने जति वर्षा होस् भनी उत्तर फर्केर पुजा गरिन्छ र त्यसपछी मिलेको दिनमा रोपाइँ गरिन्छ । ज्वाइँले खेतलाई सम्म पारेमा धानको उब्जनी राम्रो हुन्छ भन्ने जनविश्वास अनुसार रोपाइँ कार्यमा छोरी ज्वाइँलाई पनि बोलाउने चलन रहेको छ । रोपाइँ कार्य सक्किएपछी भने छोरी ज्वाइँले रोपाइँमा संलग्न भएका सबैलाई मिठाई र सुपारी दिई ढोगभेट गर्न पर्ने प्रचलन पनि रहेको पाइन्छ । यसरी कार्य सक्किएको ४–७ दिन पछि घरमा छोरी ज्वाइँलाई बोलाएर मीठो खाने कुरा खुवाउने प्रचलन पनि रहेको छ । हाल भने रोपाइँ बेला गाइने गीत र धुन देखि लिएर यस्ता रमाइला परम्पराहरु हराउँदै गएका छन् ।
निष्कर्ष
पनौती जात्रा चाड मात्र होइन; यो सहरको धनी ऐतिहासिक र सांस्कृतिक गाथाको अभिव्यक्ति हो । यो परम्परा, मिथक र आधुनिकताको संगम हो, जसले अद्वितीय अनुभव सिर्जना गर्छ, जुन उत्सवपूर्ण र चिन्तनशील दुवै हो । चाडले सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन मात्र गर्दैन, पनौतीको सामाजिक र आर्थिक गतिशीलतामा पनि महत्वपूर्ण भूमिका खेल्छ। संगीत, नृत्य, र अनुष्ठानहरूले जीवित सहरका रूपमा, पनौती जात्रा यसका मानिसहरूको अनन्त भावना र लचिलोपनको प्रमाणको रूपमा रहन्छ । इन्द्रश्वर महादेब, उन्मत्त भैरव र भद्रकालीको रथ एक आपसमा जुधाएर गरिने जात्रालाई कसैले हिले जात्रा, कसैले घुम जात्रा, कसैले ज्यापुन्हि जात्रा भन्ने गर्दछन् । यस रथ जुधाउने प्रक्रियालाई दैविक यौन क्रियाकलापको रुपमा चित्रण गरेपनि यस जात्राले यस जात्राले साँस्कृतिक र परम्परागत सम्पदालाई मात्र नभई आर्थिक, कृषि तथा वातावरणीय पक्षलाई समेत समेट्दछ ।

















