कर्माचार्यको जन्मशताब्दी समारोह आरम्भ

54

काठमाडाैं । आजदेखि नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह आरम्भ गरिएको छ । नेकपा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बंगलामुखी, कुम्भेश्वरमा रहेको कर्माचार्यको सालिकमा माल्यार्पण गरेपछि यो कार्यक्रम आरम्भ भएको हो ।

कर्माचार्यको जन्म भएको सय वर्ष पुगेकाको अवसर पारेर वर्षभरि नै कार्यक्रम गरिँदै छ। माओवादी केन्द्रले कर्माचार्यको जन्मशताब्दीको अवसरमा देशैभरि कार्यक्रम गर्न पार्टीपंक्तिलाई निर्देशन दिइसकेको छ। आजै माओवादी केन्द्रले कर्माचार्यको जन्मशताब्दी आरम्भको अवसरमा ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक विचारगोष्ठी गर्दै छ। अपराह्न साढे १२ बजेदेखि सुरु हुने गोष्ठीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कम्युनिस्ट नेताहरू मोहन वैद्य, मोहनविक्रम सिंह, युवराज ज्ञवाली, अनिल शर्मालगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

वि.सं. १९८१ कात्तिक १४ गते भाइटीकाको दिन ललितपुरको झपाटोलमा बुबा चन्द्रबहादुर र आमा श्रीकुमारीको कोखबाट जन्मिएका कर्माचार्यको २०७० साल साउन ९ गते काठमाडौंमा निधन भएको थियो । वि.सं. २००६ मा भारतको कोलकातास्थित वडाबजारमा पुष्पलालको संयोजकत्वमा स्थापना भएको नेकपाको कर्माचार्य, निरञ्जनगोविन्द वैद्य र नारायणविलास जोशी सदस्य थिए । उनी वि.सं. २००५ देखि प्रजातन्त्र संघमा संलग्न भएर राणाविरोधी र मजदुर आन्दोलनमा सक्रिय सहभागी भएका थिए ।

पार्टी स्थापनापश्चात् कर्माचार्य मजदुर संगठनको संस्थापक अध्यक्ष बनेका थिए भने २०१६ सालको निर्वाचनमा तत्कालीन ललितपुर नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुका साथै वि.सं. २०१९ मा सम्पन्न तेस्रो महाधिवेशनबाट नेकपाको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

पार्टी टुटफुट र विभाजनपश्चात् विभिन्न क्रान्तिकारी व्यक्ति र समूहलाई एकीकृत बनाउन उनले निरन्तर पहल गरिरहेका थिए। यही क्रममा कर्माचार्य २०३१ सालमा नेकपा चौमको केन्द्रीय सदस्य, २०४८ मा विभिन्न चार पार्टीको एकतापश्चात् एकता केन्द्र निर्माण र केन्द्रीय सदस्य तथा जीवनको अन्तिम समयसम्म नेपाल कम्युनिस्ट पार्टीको संरक्षक र सक्रिय भूमिका निर्वाह गरिररहेका थिए । संस्थापक नेता कर्माचार्यलाई चरित्रवान, सामाजिक र लोकप्रिय व्यक्तित्व, विवादरहित, सादा जीवन र उच्च विचारका पर्यायका रूपमा लिइँदै आइएको छ ।

यसैबिच नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलन गरी वर्षभरि गरिने कार्यक्रम सार्वजनिक गरेको छ।  कर्माचार्यको व्यक्तित्व, सपनाहरू र आगामी योजनामा केन्द्रित रहेर कार्यक्रम गर्ने प्रतिष्ठानका कार्यवाहक अध्यक्ष गिरिराजमणि पोख्रेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here