कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आगन्तुक लक्ष्मण सारस आइपुग्याे

57

कञ्चनपुर । कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आगन्तुक लक्ष्मण सारस आइपुगेका छन्। कैलालीको टीकापुर नगरपालिकाको श्रीलङ्का टापुस्थित नदीको तटीय क्षेत्रमा लक्ष्मण सारस शनिबार देखापरेका हुन्।

चार वर्षदेखि निरन्तर रुपमा यो प्रजातिको सारस कर्णाली नदीको तटीय क्षेत्रमा देखापर्दै आएको नेपाल पंछी संरक्षण सङ्घ (विसिएन) का चरा विज्ञ हिरुलाल डगौराले जनाए ।

नेपालमा पाइने चार प्रजातिका सारसमध्ये लक्ष्मण सारस आगन्तुक प्रजाति रहेको छ। सन् २००६ मा पहिलो पटक यो प्रजातिको सारस भजनीको मन्त्रीफाँटामा देखापरेपछि अभिलेखीकरण गरिएको थियो। त्यसको १८ वर्षपछि मात्रै यो प्रजातिको सारस देखापरेको थियो।

सन् २०२१ देखि हिउँदयाममा लक्ष्मण सारस निरन्तर रूपमा देखापर्दै आएको चराविज्ञ डगौरा जनाउँछन्। उनका अनुसार समूहमा रहने भएकाले यसलाई सामाजिक पंछीका रूपमा चित्रण गर्ने गरिन्छ। साइवेरियालगायत उत्तरी ध्रुवमा चिसो बढेसँगै नेपाल, भारत, पाकिस्तानलगायत गर्मी हुने तराई क्षेत्रमा बसाइँ सर्ने यो पंछी नेपालका महाकाली, कर्णाली, कोशी, नारायणी, राप्तीलगायत नदी तटीय क्षेत्रमा देख्न सकिन्छ।

कहिलेकाहीँ कञ्चनपुरका सनवोरा, स्यालीलगायत नदी तटीय क्षेत्रमा पनि यस प्रजातिको सारस देखापर्ने गरेको चरा संरक्षणकर्मी सुवन चौधरीले बताए। गतवर्ष स्याली नदीको बगरमा सयौँको सङ्ख्यामा लक्ष्मण सारस देखापरेको उनले उल्लेख गरे।

यसलाई अङ्ग्रेजीमा कमन क्रेन (ग्रस ग्रुस) भन्ने गरिन्छ। सारस प्रजातिमध्ये यो मध्यम आकारको रहेको छ। यसको शरीरको तौल औसत चारदेखि पाँच किलोग्रामसम्म र शरीरमा रहेका प्वांखको रङग खरानी किसिमको हुन्छ। यस्तै, टाउकोमा कालो, रातो र आँखाको पछाडिबाट माथिल्लो भागसम्म फैलिएको सेतो धर्कासहित कालो रङको हुन्छ। यस चराले साइवेरियालगायत ठाउँका ताल तलैया, सीमसार क्षेत्रमा प्रजनन गरी बच्चा कोरल्ने गरेको चराविज्ञहरूको भनाइ छ।

उत्तरी ध्रुवमा हिमपात भएपछि अनुकूल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा यो प्रजातिको सारस बर्सेनि नेपाल हुँदै भारत र श्रीलङ्कातर्फ जाने गरेको चराविज्ञ डङ्गौराले बताए। सोही क्रममा ती चराहरू अनुकूल स्थान पाएमा नेपालमा पनि बस्ने गरेका छन्।

‘सारसलाई सिमसार क्षेत्रको सूचक प्रजाति मान्ने गरिन्छ। सारसको उपस्थितिले सिमसार क्षेत्र र पारस्थितीय प्रणाली स्वस्थ रहेको बुझाउने गर्दछ,’ उनले भने,’यी चराले सर्पको सङ्ख्या नियन्त्रण गर्नुका साथै कृषिबालीका लागि हानिकारक शङ्खेलगायतका अन्य प्रजातिका कीरा खाएर अन्न उत्पादनमा सहयोग गर्ने गरेका छन्।’

यसका साथै बाघ, चितुवाजस्ता हिंसक जनावरनजिक आउन लागेमा सारसले कराएर जानकारी दिने र आक्रमण हुनबाट जोगाउने गरेको पनि जानकारहरू बताउँछन्। गर्मी सुरु हुन थालेपछि चैतअघि नै सारस पुरानै बासस्थानमा फर्कने गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here