सुखी अवस्था सृजनाका लागि प्राप्त ज्ञान प्रयोग गर्न आग्रह

58
काठमाडौँ, १३ पुसः त्रिविको पचाऔँ दीक्षान्त समारोह सम्बोधन प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालयले शनिबार त्रिपुरेश्वस्थित दशरथ रङ्गशालामा आयोजना गरेकोे ५०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै । तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

काठमाडौं  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त ज्ञान प्रयोग गर्न आग्रह गरेका छन्।

त्रिभुवन विश्वविद्यालयको शनिबार सम्पन्न ५०औँ दीक्षान्त समारोहमा विश्वविद्यालयलका कुलपति प्रधानमन्त्री ओलीले समाजलाई लोकतान्त्रिक, सु–संस्कृत र इमानदारपूर्ण बनाउन र विद्यावान् हुँ भन्ने कुनै घमण्ड नगरी विनयशील हुन पनि आग्रह गरे। प्रधानमन्त्री ओलीले उपाधि प्राप्त भएपछि अध्ययन पूरा नहुने तर्क गर्दै प्राप्त ज्ञानलाई व्यावहारिक जीवनमा उतारेर परिस्कृत गर्न आग्रह गरे।

“आफैँसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्या काम लाग्दैन। ज्ञानलाई व्यावहारिक रुपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “हामीले मुलुकमा विद्यमान २० प्रतिशतको निरपेक्ष गरिबी अन्त्य गर्ने अभिभारा लिनुपर्छ। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको यात्रालाई हामीले अगाडि बढाउनुपर्छ।”

प्रधानमन्त्री ओलीले हाम्रो मुलुक ज्ञान, ध्यान, योग र संस्कृतिको भूमि भएको उल्लेख गर्दै पुर्खाको ज्ञानप्रति कृतज्ञ भएर उहाँहरुबाट सिक्नुपर्नेमा जोड दिए।

प्रमुख अतिथि अर्थशास्त्री डा रामप्रकाश यादवले विद्यार्थी जीवनको सङ्घर्ष र इमानदारीले लक्ष्यप्राप्तिमा जोकोहीलाई सफलता हासिल हुने जनाए।  सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अध्ययन–अध्यापनमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिइन्। विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालले विश्वविद्यालय मातहतका क्याम्पसहरु गाभ्ने नीति लिइएको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here