फिलिपिन्सले चीनलाई अवैध गतिविधि रोक्न निर्देशन

47

एजेन्सी । चीनले आफ्नो सैन्य दबदबा बढाउन थालेपछि दक्षिणपूर्वी एसियाका कतिपय देशहरू आजित बन्न थालेका छन् ।

विशेष गरेर दक्षिण चीन सागरमा चीनका ठूला ठूला सैन्य जहाज देखिन थालेपछि सशंकित बनेका फिलिपिन्सलगायत अन्य देशहरू चीनसँग संघर्ष गर्न एकजुट हुन थालेका छन् । पछिल्लो समय फिलिपिन्स चिनियाँ ‘कोस्ट गार्ड’को अत्यधिक उपस्थिति र गतिविधिबाट प्रभावित बनेको छ ।

हालै चीनले आफ्नो सबैभन्दा ठूलो कोस्ट गार्ड जहाज सीसीजी-५९०१ फिलिपिन्सको विशेष समुद्री आर्थिक क्षेत्रभित्र तैनाथ गरेको छ । चीनको यस कदमले माछा मार्ने समुदायलाई त्रसित बनाएको छ । यससँगै दक्षिण चीन सागरमा चीनले आफ्नो प्रभुत्व बिस्तार गर्न खोजेको कुरालाई संकेत गरेको छ ।

फिलिपिन्सको राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोनाथन मलायाले भने, ‘हामीलाई चीनको यो ठूलो जहाजको तैनाथीले अचम्मित तुल्याएको छ । यो बढ्दो अतिक्रमण र उत्तेजनात्मक कदम हो । यसको उपस्थिति अवैध र अस्वीकार्य छ ।’

यो जहाज फिलिपिन्सको जाम्बालेस प्रान्तको तटदेखि १४२ किलोमिटर पर देखिएको थियो । फिलिपिन्सले चीनको यस कदमलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भन्दै औपचारिक विरोध पत्र प्रस्तुत गरेको छ ।

फिलिपिन्सको कोस्ट गार्डले चिनियाँ जहाजलाई हटाउन आफ्नो दुई ठूला गस्ती जहाज पनि तैनाथ गरेको छ । फिलिपिन्सको राष्ट्रिय समुद्री परिषदले चीनका दुई कोस्ट गार्ड जहाज र एक चिनियाँ नौसैनिक हेलिकप्टरलाई पनि पहिचान गरेको छ । उक्त हेलिकप्टर फिलिपिन्सको एक गस्ती जहाजमाथि उडेको बताइएको छ ।

क्षेत्रीय विवादको ऐतिहासिक पृष्ठभूमि

२०१६ मा अन्तर्राष्ट्रिय समुदायले चीनको ‘नाइन-ड्यास लाइन’मा आधारित दाबीलाई खारेज गर्नुका साथै दक्षिण चीन सागरको ठूलो भूभागमा चीनको स्वामित्वको दाबीलाई अवैध ठहर्‍याएको थियो । तर, चीनले यो फैसलालाई अस्वीकार गर्दै आफ्नो दाबीलाई अझ आक्रामक रूपमा अघि बढाइरहेको छ । चीनको यो दाबी ब्रुनेई, इन्डोनेसिया, मलेसिया, भियतनाम र फिलिपिन्सको विधेश आर्थिक क्षेत्रसँग ठोक्किन्छ ।

यस क्षेत्रमार्फत वार्षिक ३ ट्रिलियन अमेरिकी डलर बराबरको व्यापार हुने गरेको छ । रणनीतिक रूपमा महत्त्वपूर्ण यस जलमार्गमा चीनको प्रभुत्वले साना राष्ट्रहरूको सुरक्षा, अर्थतन्त्र र क्षेत्रीय स्थायित्वमा प्रत्यक्ष असर पार्दै आएको छ ।

चीनको रणनीति र फिलिपिन्सको प्रतिक्रिया

यस वर्षको शुरूदेखि नै चीनले ‘नाइन-ड्यास लाइन’ अन्तर्गत पर्ने फिलिपिन्सको विशेष आर्थिक क्षेत्र भित्रका क्षेत्रहरूमा गस्ती बढाएको छ ।

चिनियाँ कोस्ट गार्ड जहाजहरूले फिलिपिन्सको लुजोन टापुको जाम्बालेस तटको नजिकै ५५ नटिकल माइलसम्म गस्ती गरेका छन् । चिनियाँ जहाजका चालकदलले रेडियोमार्फत फिलिपिन्सका अधिकारीहरूलाई त्यस क्षेत्रमा ‘चिनियाँ कानून लागू हुने’ भन्दै धम्की दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

फिलिपिन्सको कोस्ट गार्डले यस चुनौतीको सामना गर्दै बीआरपी टेरेसा म्यागबानुवा नामक गस्ती जहाज तैनाथ गरेको छ । खराब मौसमका बाबजुद फिलिपिन्सका अधिकारीहरूले चिनियाँ जहाजको गतिविधिलाई नजिकबाट निगरानी गरिरहेका छन् ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले यस विवादका विषयमा अमेरिकाका राष्ट्रपति र जापानका प्रधानमन्त्रीसँग पनि भर्चुअल बैठक गरेका छन् । यस बैठकमा दक्षिण चीन सागरमा चीनको देखाउने गरेको आचरणबारे छलफल भएको थियो ।

क्षेत्रीय विकल्प र साना राष्ट्रहरूको चुनौती

चिनियाँ गतिविधिले दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका साना राष्ट्रहरूलाई थप दबाबमा पारेको छ । यी देशहरूले आफ्नो क्षेत्रीय हित र सार्वभौमिकताको रक्षा गर्न विभिन्न रणनीतिक विकल्पको मूल्याङ्कन गरिरहेका छन् ।

फिलिपिन्सका राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोनाथन मलायाले भनेका छन्, ‘चिनियाँ जहाजको उपस्थिति अवैध मात्र होइन, यसले हाम्रा माछा मार्ने समुदायलगायत सम्पूर्ण क्षेत्रीय स्थायित्वमा गम्भीर खतरा निम्त्याएको छ ।’

फिलिपिन्सको राष्ट्रिय समुद्री परिषदले भनेको छ, ‘चीनले आफ्नो जहाजलाई अवैध गतिविधि रोक्न निर्देशन दिनुपर्छ, जुन फिलिपिन्सको विशेष आर्थिक क्षेत्रभित्र रहेको सार्वभौम अधिकारको उल्लङ्घन हो ।’

चीनले सैन्य उपस्थिति बढाउन थालेपछि साना राष्ट्रहरू हाल बहुपक्षीय सहयोगको खोजीमा छन् । उनीहरू चीनको आक्रमणकारी व्यवहारको सामना गर्न अमेरिका, जापान र अन्य ठूला शक्ति राष्ट्रसँगको साझेदारीलाई प्राथमिकता दिइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here