काठमाडौं । गोलकिपर उषा नाथले तीनवटा पेनाल्टी सेभ गरेपछि त्रिभुवन आर्मी एफसीलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल पुलिस क्लब एन्फा महिला लिगको फाइनलमा प्रवेश गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको क्वालिफायर टु मा पुलिसले आर्मीलाई पेनाल्टी सुटआउटमा २-१ ले पराजित गरेको हो । पुलिसकी गोलकिपर उषाले तीनवटा सेभ गरिन् । एक गोल अन्जना रानामगरले गर्दा एक प्रहार बाहिरिएको थियो ।
पुलिसले इलिमिनेटरमा बागमतीलाई हराएर क्वालिफायर २ मा स्थान बनाएको थियो । पुलिसले अब उपाधिका लागि अर्को विभागीय टोली एपीएफ क्लबसँग खेल्ने छ ।


















