काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले देशमा अब दुईथरी संविधान बनाउन आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले केपी ओली सरकारको नजिक हुनेलाई एउटा र सामान्य जनतालाई अर्को व्यवहार हुने हो भने दुई संविधान बनाउन आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘यो देशमा अब दुई संविधान बनाउनुहोस् । केपी सरकारको ट्याग लाग्नेबित्तिकै कसैलाई उन्मुक्ति दिइने र अरुलाई कानुनी डण्डा लाउने हो भने एउटै संविधानले सम्बोधन हुन सक्दैन । एक राज्यको संविधान अनि अर्को केपी ओलीको संविधान बनाउँ ।’
उनले ठमेलमा एमाले स्थायी कमिटी सदस्य कमलराज जोशीको समूहले प्रहरीमाथि भएको आक्रमणमा उन्मुक्ति दिइएको भन्दै आपत्ति जनाए । रक्सी खाएर मातिएका एमाले कार्यकर्ताले प्रहरीमाथि गरेको आक्रमण देख्दादेख्दै पनि उन्मुक्ति दिइएकाले अब सरकारको नजिक नहुनेलाई यो देश असुरक्षित रहेको टिप्पणी गरे ।
सरकारले त्यसमा उन्मुक्ति दिएर प्रहरीको शीर निहुराउने काम गरेको जनाए । यस्तै बालश्रम मुद्दामा मुछिएकी एमाले लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मालाई दिइएको उन्मुक्तिबारे पनि उनले आपत्ति जनाए ।
वर्तमान सरकारको ट्याग लाग्नेबित्तिकै बलात्कार, हत्या, लुटपाटजस्ता जघन्य अपराधमासमेत छुट दिने गरेकाले अब देशमा दुईथरी कानुन बनाएर सरकार नजिक भएकालाई जस्तोसुकै अपराधमा पनि छुट दिन व्यङ्ग्यसमेत गरे ।
यस्तै मानव तस्करी मुद्दामा जोडिएका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्रीलाई दिइएको उन्मुक्तिमा पनि आपत्ति जनाए । मदन भण्डारी र बीपीका विचार बोकेका पार्टीहरुको नेतृ्त्वमा भइरहेका यस्ता करामतहरुले देशमा विधिको शासन छैन भन्ने पुष्टि गरेको जनाए ।
‘यतिबेला मदन भण्डारी हुनुहुन्थ्यो भने एमालेको यस्तो गति देखेर फेरि मर्नुहुन्थ्यो होला। बीपीका विचार बोकेको दल पनि सरकारमा छ। तर उहाँ हुनुहुन्थ्यो भने अहिले अर्कै पार्टीमा गइसक्नुहुन्थ्यो ।’


















