काठमाडौं । एमाले सांसद विद्या भट्टराईले शिक्षा मन्त्री पदबाट राजीनामा दिएपछि अब शिक्षा मन्त्री को बन्ला भन्ने चासो भइरहेको छ । यही सन्दर्भमा कतिपयले राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्य सम्भावित शिक्षा मन्त्रीको रुपमा प्रचार गरिरहेका छन् ।
डा. शाक्य चाहिँ के भन्छिन् ? हामीले यो जिज्ञासा शाक्यलाई राखेका थियौं । उनले तत्काल मन्त्री नबन्ने बताइन् । डा. शाक्यले अनलाइनखबरसँग भनिन्, ‘शिक्षा मन्त्रालयमा मेरो रुचि पनि छैन, विज्ञता पनि छैन ।’
कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीले अन्जान शाक्यलाई शिक्षा मन्त्री बनाउन चाहेको समाचार लेखेका छन् । शाक्यले भने त्यसलाई ‘भ्रामक र कपोलकल्पित’ भनेर टिप्पणी गरिन् ।
उनले आफू भर्खरै अन्तर–व्यवस्थापिका संघ (आईपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएको भन्दै उनले तत्कालका लागि यही जिम्मेवारी निर्वाह गर्ने बताइन् ।
उनले केही मानिसले आफूप्रति पूर्वाग्रह राखेर अहिलेको शिक्षा क्षेत्रमा देखिएका समस्यामा मुछ्ने प्रयास गरेको शंका समेत गरेकी छन् । ‘गलत स्वार्थसहित फैलाइएको भ्रमको पछि नलाग्न म अनुरोध गर्दछु,’ उनले भनिन् ।


















