छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

25

काठमाडौं । मकवानपुर, थाहा नगरपालिका-३ स्थित सडकमा गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा.३ ख ५९९० नम्बरको बसको ठक्करबाट ३ जना पैदलयात्रीहरूको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही नगरपालिका-९ चित्लाङ बस्ने ४० वर्षीय कृष्ण बलामी, सप्तरी बिष्णुपुर गाउँपालिका-५ बस्ने ३६ वर्षीय लोकेन्द्र कुमार ठाकुर र सिराहा औरही गाउँपालिका-१ बस्ने ३३ वर्षीय रघुनन्दन यादव रहेका छन् ।

सोमबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका कृष्ण र लोकेन्द्रको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा र रघुनन्दनको नेपाल नेशनल अस्पतालमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो । साथै उक्त बसको ठक्करबाट घाइते भएका अन्य ३ जना पैदलयात्रीहरू मध्ये १ जनाको बिएण्डबि अस्पताल काठमाडौंमा र १ जनाको नेपाल नेशनल अस्पताल कलंकी काठमाडौंमा उपचार भइरहेको छ भने १ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पर्सा, वीरगंज महानगरपालिका-७ कुमाल टोलमा म.प्र.०३-००२ स ४३८८ नम्बरको लोडरको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी २८ वर्षीय पुरूषको सोमबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल परवानीपुर बारामा थप उपचारको क्रममा मृत्यु भएको हो । लोडर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली, घोडाघोडी नगरपालिका-३ निम्दीस्थित सडकमा सुखडबाट भजनीतर्फ जाँदै गरेको सु.प.प्र.०१-००९ प ८४५२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय मान बहादुर चौधरीको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

नवलपरासी पूर्व, मध्यविन्दु नगरपालिका-७ अम्रसा जंगलस्थित सडकमा अम्रसाबाट चोरमारातर्फ आउँदै गरेको लु.९ प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई 4 मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-७ चोरमारा बस्ने २४ वर्षीय नविन कुमाल र २२ वर्षीय रादिम मिधुनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनालाई थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here