काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपालले यातायातका साधनहरूमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान गरेको छ।
पूर्वाधारबिना विदेशी प्रविधि भित्र्याएर नागरिक र यातायात व्यवसायीमाथि अनावश्यक आर्थिक भार थपिने र यसले नेपालीको व्यक्तिगत विवरण विदेशी कम्पनीको नियन्त्रणमा रहने हुँदा राष्ट्रको सुरक्षामा खतरा उत्पन्न हुने महासंघको धारणा छ।
महासंघले भनेको छ, ‘सरकार, प्रत्यक्ष सरोकारहरु पक्षहरुबीचको छलफल संंवादका बीच देखिएका अव्यवहारिक विषयहरुको संशोधन सुधार बिना सार्वजनिक, पर्यटन र ढुवानी, निजी प्राइभेट सम्पूर्ण यातायात क्षेत्रको तर्फबाट सो इम्वोस्ड नम्बर प्लेट जडा नगर्नु हुन सबैमा हार्दिक अनुरोध छ।’
जबरजस्ती इम्बोस्ड नम्बर प्लेट जडान गराउन खोजिए आन्दोलन गर्ने महासंघले चेतावनी दिएको छ।
‘जबरजस्ती रुपमा प्लेट जडान गर्न खोजिए परिस्थिति उपज हुने विरोध दबाबका थप गतिविधिप्रति स्वयं यातायात मन्त्रालय मातहत निकायहरु नै जवाफदेही हुने व्यहोरा यसै विज्ञप्तिमार्फत सबैमा जानकारी गराइन्छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले भदौ ३ गते सूचना जारी गरी असोज १ गतेदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने जनाएको थियो।


















