अन्तरिम सरकारविरुद्ध प्रदर्शन गर्न पुगेका अभियन्ता पक्राउ

5

काठमाडाैं । जेन–जीका माग पूरा नगरेको भन्दै अन्तरिम सरकारविरुद्ध प्रदर्शन गर्न पुगेका केही अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डौको माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले आज डा. निकोलस भुसाल, सञ्जीव दाहालसहित १४ जनाभन्दा धेरैलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर काठमाण्डौमा राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरू प्रदर्शन गर्न भन्दै आज बिहान माइतीघर पुगेका थिए । अनुमति नदिएको अवस्थामा प्रदर्शन गर्न खोजेपछि केहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी एवम् प्रवक्ता पवनकुमार भट्टराईले बताउनुभयो ।

प्रहरीले माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । त्यस क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।

जेन–जीले अन्तरिम सरकारसँग राखेका मागहरू पूरा गर्न ढिलाइ गरेको, भ्रष्टाचार र बेथितिविरुद्ध कुनै कदम नचालेको, गएको भदौ २३ गते भएको आन्दोलनमा दमन गर्नेहरूलाई पक्राउ नगरिएको भन्दै विभिन्न माग राखेर उनीहरू आज प्रदर्शन गर्न पुगेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here