काठमाडौं। नेपाल संवत् ११४६ सुरु भएको छ ।
राष्ट्रिय विभूति शंखधर सा:ख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएका थिए । नेपाल संवत् अवसरमा बुधबार काठमाडौंका विभिन्न स्थानमा र्यालीका साथै शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको थियो ।
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेषरूपमा मनाउने गरिन्छ ।
गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत् समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सा:ख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।


















