निःशुल्क वाइफाइ सेवा सञ्चालनको अनुगमन  

3

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उपत्यकाका विभिन्न स्थानमा जडान गरिएका निःशुल्क वाइफाइसहितको इन्टरनेट सेवा सञ्चालनको अनुगमन गरेका छन् ।

बुधबार सञ्चारमन्त्री खरेलले काठमाडौंको नयाँ बसपार्कदेखि शिक्षण अस्पताल, पशुपति आर्यघाट क्षेत्र हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जडान भएका निःशुल्क इन्टरनेट सेवा सञ्चालनको अनुगमन गरेका हुन् ।

उनले दुई महिनाभित्र काठमाडौंका संवेदनशील तथा अत्यावश्यक स्थानमा निःशुल्क इन्टरनेट सेवाको प्रतिबद्धता अनुसार डेढ महिनाको अवधिमा १९ वटा स्थानमा निःशुल्क इन्टरनेट सेवा सुचारु भइसकेको जानकारी दिए  ।

स्वयम्भूको यातायात कार्यालयदेखि एकान्तकुना हुँदै भक्तपुरको यातायात कार्यालयसम्म पनि निःशुल्क वाइफाइसहितको इन्टरनेट सेवा उपलब्ध गराउन काम भइरहेको उनले जनाए ।

उनले सरकारले राजधानी काठमाडौंसहित दुर्गम क्षेत्रमा पनि इन्टरनेट सेवा विस्तार गर्नेक्रममा काम गरिरहेको जानकारी गराए ।

सरकारले सातै प्रदेशका राजधानीमा निःशुल्क इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य लिएको उल्लेख गर्दै मन्त्री खरेलले मुलुकका गाउँ–सहर, सुगम–दुर्गम सबै क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा पुर्‍याउने सन्दर्भमा आवश्यक काम भइरहेको जानकारी गराए  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here