निर्वाचनले देशलाई संकटमा लैजाने चेतावनी

23

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले संविधान असफल भएका वेला हुने निर्वाचनले देशलाई संकटमा लैजाने चेतावनी दिएका छन् ।

बुधवार काठमाडौँमा शुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले संविधान असफल भइसकेको बताउँदै यस्तो वेला हुने निर्वाचन मुलुकको समस्या समाधान गर्ने माध्यम हुनै नसक्ने बताए । यही निर्वाचन प्रणाली कायम राखेर हुने निर्वाचनले देशलाई थप संकटमा धकेल्ने तर्क गरे ।

नवगठित नेपाली कम्युनिष्ट पार्टीप्रति लक्षित गर्दै जनताको बीचमा जान नसक्ने अवस्था भएपछि कम्यूनिष्टहरूले नामै परिवर्तन गर्नुपर्ने अवस्था आएको दाबी गरे। अध्यक्ष लिङदेनले जनतामा जान सक्ने र जनताले आशा गरेको पार्टी राप्रपा मात्रै भएको जनाए।

लिङदेनले भने, ‘असफल भइसकेको संविधानलाई नै टेकेर त्यही निर्वाचन प्रणाली कायम राखेर फागुन २१ गते मध्यावधि निर्वाचन गर्ने निर्णय भएको छ। त्यसले मुलुकलाई निकास दिने र समाधान दिने होइन । त्यसले थप जटिलता पैदा गर्ने र अहिले देखिएको समस्यालाई अलि पर ठेल्ने मात्रै काम गर्नेछ भन्ने हाम्रो धारणा छ। यथास्थितिमा चुनाव समस्याको समाधान होइन भन्ने स्पष्ट छ ।’

अध्यक्ष लिङदेनले मुलुकलाई निकास दिन राजा, राजनीतिक दल र जेनजी पुस्ताबीच समझदारी गरेर अघि बढ्नुपर्ने अडान दोहोर्‍याए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here