काठमाडौं । राष्ट्रिय सभामा दलहरूले चुनावै नगरी सर्वसम्मत रुपमा सांसद चयन गर्ने भएका छन्।
हाल राष्ट्रिय सभामा रहेका चार दलले उम्मेदवारी दिँदै प्रतिस्पर्धा नगर्ने गरी गठबन्धन गर्न लागेका हुन्।
माघ ११ गते हुने राष्ट्रिय सभाको चुनावका लागि भोलि बुधबार मनोनयनको कार्यतालिका छ। मनोनयन अघि नै राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने चार दलबीच सिट बाँडफाड गर्ने सहमतिले करिब अन्तिम रुप लिएको छ।
काङ्ग्रेसका एक नेताका अनुसार सर्वसम्मत रुपमा १८ साम्सद चयन गर्न दलहरू सहमत भएका हुन्। स्रोतका अनुसार उपेन्द्र यादव र महन्त ठाकुर नेतृत्वको जसपालाई एक सिट दिएर बाँकी १७ सिटमा कांग्रेस एमाले र नेकपा बीच तालमेल हुने निश्चित भएको हो।
१७ सिटमा तीन दल मध्ये कांग्रेसले ७ एमालेले ६ र नेकपाले ५ सिट लिने करिब टुंगो लागेको छ। राष्ट्रिय सभामा सांसद चयनका लागि स्थानीय तहका प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष र प्रदेश सभाका सदस्य रहेको निर्वाचक मण्डलबाट भोट हाल्नुपर्ने संवैधानिक व्यवस्था छ।
जसमा प्रदेशसभा सांसदको मतभार ५३ पुगेको छ भने स्थानीय तहका पदाधिकारीको मतभार १९ कायम गरिएको निर्वाचन आयोगले जनाएको छ।


















