मध्यपूर्व तनाव भएकाले नेपाल फर्काइदै

14

काठमाडौं । नेपाल सरकारले कुवेत, कतार र बहराइनमा रहेका नेपालीलाई साउदी अरेबिया हुँदै गन्तव्य राष्ट्र पठाउने प्रयास सुरु गरेको छ ।

“बहराइन, कतार र कुवेतमा रहेका नेपाली, जो स्वदेश फर्कन चाहन्छन्, उनीहरूलाई साउदी हुँदै नेपाल फर्कन आवश्यक प्रक्रिया मिलाइएको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी गराए  ।

परराष्ट्र मन्त्रालयको निर्देशनमा कुवेत, कतार, बहराइन र साउदी अरेबियामा भएका नेपाली दूतावासहरूले यो प्रक्रिया सुरु गरेका हुन् ।  “बहराइन, कतार र कुवेतमा रहेका ११० जना नेपालीले साउदी हुँदै गन्तव्यतर्फ जान भिसाका लागि अनुरोध गर्नुभएको छ,” साउदी अरेबियाका लागि नेपाली कार्यवाहक राजदूत सृजना अधिकारीले जानकारी दिइन् ।

साउदी हुँदै गन्तव्यतर्फ जान आवेदन दिने अधिकांश बेलायत जाने छन् भने केही नेपाल फर्कने छन् ।

मध्यपूर्व तनावले नेपाली प्रभावित

अमेरिका/इजरायल र इरानबीचको युद्ध मध्यपूर्व तथा खाडी क्षेत्रमा विस्तार भएपछि त्यहाँ भएका नेपाली त्रसित छन् । परराष्ट्र मन्त्रालयका अनुसार, मध्यपूर्व तथा खाडी क्षेत्रमा १७ लाख २९ हजारभन्दा बढी नेपाली छन् ।

अमेरिका र इजरायलले गत फागुन १६ गते अचानक इरानमाथि आक्रमण सुरु गरेका थिए । त्यसपछि इरानले इजरायलमाथि प्रत्याक्रमण सुरु गरेको थियो ।

इरानले इजरायलमा मात्र होइन, मध्यपूर्व तथा खाडी क्षेत्रमा रहेका युनाइटेड अरब इमिरेट्स (यूएई), साउदी अरेबिया, कतार, कुवेत, ओमान, बहराइन, जोर्डन, इराकलगायतका देशमा रहेका अमेरिकी सैन्य बेसमा पनि आक्रमण गरिरहेको थियो ।

इरानले गरेको आक्रमणमा परी यूएईमा एक जना नेपालीको मृत्यु भएको छ भने १८ जना घाइते भएका थिए । घाइते सबै उपचारपछि कम्पनीमा फर्किसकेका छन् ।

ट्रान्जिट अवरोधले समस्या

इरानले मध्यपूर्व तथा खाडी राष्ट्रमा पनि आक्रमण गरेपछि ती देशको ट्रान्जिटमा रहेका नेपाली गन्तव्यतर्फ जान सकेका छैनन् । त्यतिमात्र होइन, ती देशमा काम गरिरहेका केही नेपालीले आफू असुरक्षित रहेको विवरण परराष्ट्र मन्त्रालयले उद्धारका लागि सञ्चालनमा ल्याएको वेब साइटमा टिपाएका छन् ।

पछिल्ला दिन यूएईबाट दैनिकजस्तो उडान भइरहेका छन् । कुवेतका आकाश भने पूर्णरूपमा बन्द छ । कतार र बहराइनबाट पनि उडान हुन सकिरहेको छैन ।

यसै कारण कुवेत, कतार र बहराइनमा रहेका नेपालीलाई स्वदेश फर्कन चाहेमा वा अन्य राष्ट्र जान चाहेमा साउदी हुँदै जाने व्यवस्था मिलाइएको हो । सडकमार्गबाट साउदी पुगेपछि उनीहरूलाई विमानमार्फत गन्तव्यतर्फ पठाइनेछ ।

दूतावासहरूको सूचना र सहजीकरण

कुवेतस्थित नेपाली दूतावासले मंगलबार (चैत ३ गते) एक सूचना जारी गर्दै भनेको छ, “कुवेतको रेसिडेन्सी/सिभिल आइडी रद्द गरी उडानको प्रतीक्षामा रहनुभएका तर कुवेतको हवाई क्षेत्र बन्द भएका कारणले नेपाल जान असमर्थ रहनुभएका नेपाली नागरिकहरू आफ्नै खर्चमा सडकमार्गबाट साउदी अरेबिया प्रवेश गरी उक्त देशको विमानस्थल हुँदै नेपाल जान चाहनुभएका ट्रान्जिट प्रयोजनका लागि मात्र उक्त देशको भिसाका लागि सहजीकरण गरिने भएकोले सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।”

यस्तै, बहराइनस्थित नेपाली दूतावासले पनि सूचना जारी गर्दै साउदी हुँदै नेपाल फर्कन चाहनेलाई सघाउने जनाएको छ ।

बहराइनस्थित नेपाली दूतावासले भनेको छ, “वर्तमान सन्दर्भमा बहराइनबाट साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल फर्कन चाहने नेपाली नागरिकहरूले साउदी ट्रान्जिट भिसा वा पर्यटक भिसा प्राप्त गर्न सनाविस, दानामलमा रहेको ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत भिसा आवेदनका लागि अनलाइन अपोइन्टमेन्ट बुक गर्न तथा भिसा आवेदन पेश गर्न सकिनेछ ।”

कतारको दोहास्थित नेपाली दूतावासले पनि सूचना जारी गर्दै साउदी हुँदै नेपाल फर्कन चाहनेलाई सघाउने जनाएको छ । दूतावासले अपोइन्टमेन्ट पाएको मिति र समयमा तोकिएका कागजात लिएर ताशिर भिसा सेन्टर, अल घराफामा जान अनुरोध गरेको छ ।

७६ हजारभन्दा बढी नेपालीले दिए विवरण

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले गत फागुन २० गते उद्धार तथा आवश्यक सहयोगका लागि समस्यामा परेका नेपाली नागरिकहरूको विवरण उपलब्ध गराउन भन्दै वेब पोर्टल सार्वजनिक गरेको थियो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता क्षेत्रीका अनुसार, मध्यपूर्व तथा खाडी क्षेत्रमा रहेका ७६ हजारभन्दा बढी नेपालीले वेब पोर्टलमा आफ्नो विवरण उपलब्ध गराएका छन् । तीमध्ये करिब पाँच हजारले आफू असुरक्षित रहेको विवरण टिपाएका थिए । तर उनीहरूमध्ये धेरैले आफू सुरक्षित रहेको विवरण अद्यावधिक गरेका छन् ।

सामाजिक सञ्जाल प्रयोगमा चेतावनी

परराष्ट्र मन्त्रालयका अनुसार यूएई, कुवेत र साउदी अरेबियामा हालसम्म ६ जना नेपालीलाई स्थानीय सुरक्षा निकायले पक्राउ गरेको छ । भ्रामक भिडियो तथा सामग्री सामाजिक सञ्जालमा पोस्ट गरेका कारण उनीहरू पक्राउ परेका हुन् । साउदी अरेबियामा ३, यूएईमा २ र कुवेतमा १ जना नेपाली पक्राउ परेका छन् ।

यस्ता कार्यमा संलग्न हुने व्यक्तिलाई यूएईको कानुनअनुसार कम्तीमा १ देखि २ वर्षसम्म जेल सजाय र १ लाखदेखि २ लाख दिरहमसम्म जरिवाना हुने अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । यसैकारण मध्यपूर्व तथा खाडी क्षेत्रमा रहेका नेपाली दूतावासहरूले दिनहुँजसो सूचना जारी गर्दै पुष्टि नभएका र भ्रम फैलिने सामग्री सामाजिक सञ्जालमा पोस्ट नगर्न अनुरोध गर्दै आएका छन् ।

“यो विषम परिस्थितिको गम्भीरता बुझी वर्तमान परिस्थितिसँग सम्बन्धित कुनै पनि सामग्री सामाजिक सञ्जालमा पोस्ट नगर्न, प्रकाशन वा प्रसारण नगर्न र यहाँको सुरक्षा स्थितिबारे भ्रम फैलिने किसिमले तस्बिर/भिडियो खिची पोस्ट नगर्न यूएईमा रहनुभएका सम्पूर्ण नेपाली समुदायलाई राजदूतावास पुनः अनुरोध गर्दछ,” यूएईको अबुधाबीस्थित नेपाली दूतावासले भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here