देशको विकासका लागि ३३ बुँदे सुझावसहितको प्रतिबद्धता पत्र सार्वजनिक

0

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले देशको समग्र विकास, सुशासन र स्वाधीनताका लागि ३३ बुँदे सुझावसहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। मंगलबार  एक पत्रकार सम्मेलनमार्फत अध्यक्ष साम्पाङले परराष्ट्र नीति, शिक्षा, श्रम, र आर्थिक विकासका क्षेत्रमा आमूल परिवर्तनको खाका प्रस्तुत गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

साम्पाङले प्रस्तुत गरेको सुझावको मुख्य प्राथमिकतामा नेपालको असंलग्न परराष्ट्र नीति र राष्ट्रिय सार्वभौमिकता रहेको छ । उनले एमसीसी र एसपीपी जस्ता सैन्य रणनीतिसँग जोडिन सक्ने सम्झौताहरू खारेज गर्नुपर्ने र देशलाई कुनै पनि विदेशी हस्तक्षेपबाट मुक्त राख्नुपर्नेमा जोड दिएका छन् । सीमा रक्षाका लागि सेना परिचालन गर्नुपर्ने र छिमेकी मुलुकसँगका सीमा विवादलाई कूटनीतिक माध्यमबाट हल गरी अवैध निर्माण तत्काल रोक्नुपर्ने उनको माग छ ।

अध्यक्ष साम्पाङले नेपालको शिक्षा प्रणालीमा क्रान्तिकारी परिवर्तनको प्रस्ताव गर्दै ’किताबी ज्ञान मात्र शिक्षा होइन’ भन्ने मान्यता अघि सारेका छन् । उनको सुझाव अनुसार हप्ताको तीन दिन मात्र किताब पढाइने र बाँकी चार दिन श्रम, सीप, सिर्जना र आविष्कारमा विद्यार्थीलाई लगाउनुपर्नेछ । कृषि क्रान्तिलाई सिंहदरबार र विश्वविद्यालयको कागजमा मात्र सीमित नराखी सिधै किसानको खेतबारीसम्म पुर्‍याउनुपर्ने र ’एक पालिका एक उद्योग, एक परिवार एक रोजगार’ को नीति कडाइका साथ लागू गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।

देशको विकास मोडेलमा टिप्पणी गर्दै साम्पाङले काठमाडौँ केन्द्रित विकासको अन्त्य हुनुपर्ने बताएका छन् । उनका अनुसार सङ्घीयतालाई व्यवहारिक रूपमा लागू गर्दै सीमावर्ती क्षेत्र र गाउँघरलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिनुपर्छ। वैदेशिक ऋण र अनुदानको भर पर्नुको साटो आफ्नै प्राकृतिक स्रोत र जनशक्ति परिचालन गरी स्वाधीन अर्थतन्त्र निर्माण गर्नुपर्नेमा उनको विशेष जोड छ।

सुशासन र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा साम्पाङले निकै कडा सुझावहरू पेस गरेका छन् । कामचोर, भ्रष्ट र घुसखोर कर्मचारीलाई सरुवा मात्र नभई सिधै बर्खास्त गर्ने कानुन बनाउनुपर्ने उनको माग छ। त्यस्तै, पछिल्लो समय चर्चामा रहेको सहकारी ठगी प्रकरणका आरोपित जीबी राई लगायतलाई तत्काल पक्राउ गरी कारबाही गर्न र पीडितको बचत पैसा ठगहरूकै सम्पत्ति लिलाम गरेर फिर्ता गराउन उनले सरकारलाई आग्रह गरेका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here