मनोहरामा सुकुम्बासी बस्ती हटाउने कार्य आजदेखि पुनः सुरु

28

काठमाडौं । भक्तपुरको सीमावर्ती मनोहरा क्षेत्रमा रहेको सुकुम्बासी बस्ती हटाउने कार्य आजदेखि पुनः सुरु गरिएको छ। शनिबार स्थानीयवासीको कडा प्रतिरोधका कारण रोकिएको अभियान आइतबार बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा अघि बढाइएको हो।

आइतबार बिहानैदेखि डोजरसहित पुगेको टोलीले बस्ती भत्काउन सुरु गरेको छ। बस्ती वरपर उच्च सुरक्षा सतर्कता अपनाइएको छ भने सम्भावित झडपलाई ध्यानमा राख्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

यसअघि शनिबार बस्ती हटाउने प्रयास हुँदा स्थानीयवासीले ढुंगामुढा गर्दै विरोध जनाएका थिए। सो क्रममा केही सुरक्षाकर्मी घाइतेसमेत भएका थिए। स्थानीयको तीव्र प्रतिरोधपछि डोजरसहितको टोली पछि हट्न बाध्य भएको थियो।

तर आज पुनः तयारीसाथ पुगेको टोलीले मनोहरा सुकुम्बासी बस्ती हटाउने काम सुरु गरेको हो। यो अभियान काठमाडौँ महानगरपालिकाले अघि बढाएको अतिक्रमण हटाउने योजनाअन्तर्गत भइरहेको जनाइएको छ। यसअघि महानगरपालिकाले थापाथली र गैह्रीगाउँका सुकुम्बासी बस्तीमा पनि डोजर चलाएको थियो।

स्थानीयवासीले भने आफूहरूलाई उचित वैकल्पिक व्यवस्था नगरी जबरजस्ती हटाउन खोजिएको भन्दै विरोध जारी राख्ने बताएका छन्। उनीहरूले पुनर्वासको स्पष्ट योजना नआएसम्म बस्ती नछोड्ने अडान लिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here