यार्सागुम्बा संकलन जेठ १३ गतेदेखि पाइने

2

मुगु । बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनका लागि मुगुम कार्मारोङ गाउँपालिकाले आगामी जेठ १३ गतेदेखि प्रवेश अनुमति खुला गर्ने भएको छ। गाउँपालिकाले एक महिनाका लागि यार्सा संकलन अनुमति दिने तयारी पूरा गरेको जनाएको छ।

गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार जेठ १३ गतेदेखि असार १३ गतेसम्मका लागि मात्रै प्रवेश पुर्जी वितरण गरिनेछ। जिल्ला बाहिरबाट आउने संकलनकर्ताका लागि वन प्रवेश शुल्क प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ तथा जिल्लाभित्रका लागि २ हजार रुपैयाँ तोकिएको उनले जनाए ।

गाउँपालिकाका अनुसार छापाखोला, रिमार, तल्लो कुइकी, माथिल्लो कुइकी, छुगाेल्डुङ, हाङ्दाङखोला, माजिङथानलगायतका उच्च हिमाली क्षेत्र यार्सागुम्बा पाइने मुख्य पाटनका रूपमा परिचित छन्। यी क्षेत्रलाई यार्सागुम्बा संकलनका लागि उर्वरभूमि मानिन्छ।

हरेक वर्ष हुम्ला, जुम्ला, कालिकोट, मुगु, जाजरकोट तथा सुर्खेतलगायत जिल्लाबाट ठूलो संख्यामा मानिसहरू यार्सागुम्बा संकलनका लागि मुगु पुग्ने गरेका छन्। यार्सा संकलनको समय सुरु भएसँगै हिमाली बस्ती तथा पाटन क्षेत्रमा चहलपहल बढ्ने गर्दछ।

गाउँपालिकाले ‘छोडपुर्जी’ प्रणालीमार्फत संकलन अनुमति वितरण गर्दै आएको छ। उक्त प्रणालीबाट हरेक वर्ष लाखौँ रुपैयाँ राजस्व संकलन हुँदै आएको गाउँपालिकाको भनाइ छ।

यार्सागुम्बा संकलनबाट स्थानीयवासीले राम्रो आम्दानी गर्ने भएकाले यसले हिमाली क्षेत्रको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here